१० जेठ,काठमाडौं । नेपाल प्रहरीको तथ्याङ्कअनुसार गत वैशाख महिनामा देशभर भएका सवारी दुर्घटनामध्ये आधाभन्दा बढी घटना तीव्र गतिका कारण भएको देखिएको छ।
वैशाख महिनामा कुल २,२९४ सवारी दुर्घटना भएकोमा १,२५३ दुर्घटना तीव्र गतिका कारण भएको प्रहरीले जनाएको छ। अन्य कारणमध्ये चालकको असक्षमता (१३७), हतारमा बाटो काट्नु (१३३), मादक पदार्थ सेवन (११२) र अनावश्यक ओभरटेक (४६) प्रमुख रहेका छन्।
सो अवधिमा भएका दुर्घटनामा २३९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १५८ पुरुष, ५४ महिला र २७ बालबालिका रहेका छन्। यस्तै ७५२ जना गम्भीर घाइते र ३,२२० जना सामान्य घाइते भएका छन्।
प्रहरीका अनुसार वैशाख महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने १,३७,०९४ जनामाथि कारबाही गरिएको छ, जसबाट ११ करोड ८२ लाख ७४ हजार १८९ रुपैयाँ राजस्व संकलन भएको छ।
कुल दुर्घटनामा ३,३३४ वटा सवारी साधन संलग्न थिए, जसमध्ये सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेका थिए।
समयगत विश्लेषणअनुसार साँझ ६ बजेदेखि राति १२ बजेसम्म सबैभन्दा बढी दुर्घटना (८५९) भएको पाइएको छ। त्यसपछि दिउँसो १२ देखि साँझ ६ बजेसम्म ८५०, बिहान ६ देखि दिउँसो १२ बजेसम्म ५०६ र राति १२ देखि बिहान ६ बजेसम्म ७८ दुर्घटना भएका छन्।
पछिल्लो २४ घण्टामा मात्रै देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएका छन्। बागमती प्रदेशमा दुई र काठमाडौं उपत्यकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।


















