१० जेठ,वीरगञ्ज । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्।
रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपसी झोलुङ्गे पुल मुनिबाट शनिबार दिउँसो करिब ४ बजे पाँच जना युवक नदी तर्ने क्रममा बेपत्ता भएका थिए।
इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीका अनुसार मृत भेटिनेमा लालबन्दी नगरपालिका–९ बस्तीपुरका १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो रहेका छन्।
रोहित महतोको शव आइतबार सर्लाहीको बागमती नगरपालिका–११ स्थित पुल नजिक फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी गणेश महतोको शव पनि आइतबार दिउँसो करिब साढे १ बजे बागमती नदीको ड्याम साइड क्षेत्रमा फेला परेको हो।
प्रहरीका अनुसार सर्लाहीको बरहथवा नगरपालिका–५ का २८ वर्षीय सहमद मोमिन, २४ वर्षीय मोहम्मद अख्तर तथा ब्रहमपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी भने सकुशल भेटिएका छन्।
उनीहरू कसैलाई जानकारी नदिई झपसी झोलुङ्गे पुल क्षेत्रमा पुगेका र नदी तर्ने क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।


















