Logo

१४ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले सरकारको पछिल्लो कार्यशैलीलाई लिएर कडा आलोचना गरेको छ ।

बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले बहुमतको आडमा सरकार पूर्ण रूपमा गैरजिम्मेवार बन्दै गएको निष्कर्ष निकालेको हो । बैठकमा विशेषगरी प्रधानमन्त्री वालेन्द्र शाहको संसद्प्रतिको उपस्थिति र गणतन्त्र दिवस समारोहमा उनको अनुपस्थितिलाई लिएर कांग्रेसले गम्भीर प्रश्न उठाएको छ ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले संसद्मा आउन नसक्नुको कारणसमेत स्पष्ट नपारेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले भनिन्, ‘प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले आफू उपस्थित हुन नसक्नुको कारण जनता र संसद्लाई जानकारी गराउनुपर्ने थियो, तर यसतर्फ कुनै चासो नदेखाउनुले उहाँ जनताप्रति उत्तरदायी नभएको पुष्टि हुन्छ।’

बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनबारे पनि गम्भीर समीक्षा भएको छ । कांग्रेसले कानुनभन्दा माथि कोही नहुने उल्लेख गर्दै प्रतिवेदनमा औँल्याइएका तथ्यहरू सत्य हुन् भने तिनलाई कुनै राजनीतिक संरक्षण बिना कानुनी दायरामा ल्याउन सरकारलाई चुनौती दिएको छ ।

साथै, आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा पनि सरकारले प्रतिपक्षको आवाजलाई बेवास्ता गरेको कांग्रेसको आरोप छ । विगतमा सरकारले प्रतिपक्षका सुझाव र जवाफहरूलाई महत्त्व दिने गरे तापनि अहिले प्रधानमन्त्रीबाटै जवाफदेहिताको अभाव देखिएको सचेतक थापाको भनाइ छ ।

‘मिडिया स्टन्ट’ भन्दा पनि सत्यतथ्य छानबिन र संसदीय मर्यादा पालनमा सरकारले जोड दिनुपर्ने भन्दै कांग्रेसले सरकारको कार्यशैली सुधार नभए कडा प्रतिवाद गर्ने सङ्केत गरेको छ ।


सम्बन्धित समाचार