१५ जेठ,काठमाडौं । कम्बोडिया सरकारले भिसाको समयावधि सकिएर पनि त्यहीँ बसिरहेका ६०२ जना नेपालीलाई जरिबाना मिनाहा गरिदिएको छ। थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको अनुरोधपछि कम्बोडिया सरकारले जरिबाना शुल्क मिनाहा गर्दै उनीहरूलाई स्वदेश फर्किन सहज बनाएको हो।
दूतावासका अनुसार जरिबाना मिनाहा भएका नेपालीमध्ये अझै ३०२ जना कम्बोडियामै रहेका छन्। उनीहरूलाई स्वदेश फर्काउने तयारी भइरहेको र आवश्यक ट्राभल डकुमेन्ट उपलब्ध गराइसकिएको दूतावासले जनाएको छ।
कम्बोडियामा भिसा अवधि समाप्त भएपछि बस्ने विदेशी नागरिकलाई प्रतिदिन १० अमेरिकी डलर जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
दूतावासले भिसा अवधि सकिएका सबै नेपालीलाई एक साताभित्र कम्बोडिया छोडेर स्वदेश फर्किन अनुरोध गरेको छ। तोकिएको समयभित्र नफर्किनेहरूलाई कम्बोडिया सरकारले नयाँ कानुनअनुसार जरिबाना तथा कैद सजाय गर्न सक्ने चेतावनी दिएको छ।
कम्बोडियाले हालै लागू गरेको नयाँ कानुनअनुसार अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा काम गर्ने विदेशी तथा भिसा अवधि सकिएपछि पनि बसिरहने विदेशीलाई पाँच लाख अमेरिकी डलरसम्म जरिबाना र आजीवन कैदसम्मको सजाय हुन सक्ने व्यवस्था गरिएको छ।
दूतावासले जरिबाना तथा शुल्क मिनाहा भइसकेका व्यक्तिहरूलाई हवाई टिकटको व्यवस्था आफैं गर्नुपर्ने जनाएको छ। टिकट व्यवस्थापन गरेपछि त्यसबारे कम्बोडियाको अध्यागमन विभागलाई जानकारी गराउनुपर्ने दूतावासले उल्लेख गरेको छ।




















