१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार गरिबी निवारणको नाममा नागरिकप्रति क्रूर र अमानवीय बनेको भन्दै कडा आलोचना गरेका छन् ।
सानेपास्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले गरिब र गरिबीबीचको आधारभूत भिन्नता नै बुझ्न नसक्दा समस्या विकराल बनेको टिप्पणी गरे । सरकारको हस्तक्षेप गरिबी हटाउनेतर्फ केन्द्रित हुनुपर्नेमा गरिब जनतालाई नै विस्थापित गर्नेतर्फ लक्षित हुनु दुखद् भएको उनको भनाइ छ ।
सभापति थापाले सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजर र विस्थापनको शैलीले नागरिकमा गम्भीर मनोवैज्ञानिक चोट पुर्याएको उल्लेख गरे । ‘सफाइको नाममा रातारात घर भत्काएर मानिसलाई उठिबास लगाउनु गलत हो, खोला किनारका बस्तीहरू कसैका लागि सामान्य देखिए पनि त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो,’ थापाले भने ।
विस्थापनका कारण बालबालिकाको शिक्षा, जीविकोपार्जन र नागरिकको मानसिक स्वास्थ्यमा पर्न गएको नकारात्मक असरप्रति राज्य संवेदनशील हुनुपर्नेमा उनले जोड दिए ।
आफूहरूको अध्ययनले विस्थापित नागरिकको अवस्था भयावह रहेको संकेत गरेको बताउँदै उनले प्रतिपक्षी दलको हैसियतले सरकारलाई गलत बाटोबाट फर्काउनु आफ्नो कर्तव्य भएको प्रष्ट पारे ।
नागरिकका समस्याप्रति सहानुभूति राख्दै उनीहरूको न्यायका लागि पार्टी सदैव उभिने बताउँदै थापाले बलपूर्वकको विस्थापन नभई मानवीय दृष्टिकोणबाटै समस्याको समाधान खोज्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।




















