१५ जेठ, काठमाडौं । वित्तीय क्षेत्रमा बढ्दो खराब कर्जाको चापलाई कम गर्न र गैर–बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि सरकारले ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो कम्पनी पुस मसान्तभित्रै सञ्चालनमा ल्याइने जानकारी दिएका हुन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको वासलातमा खराब कर्जाको अंश बढ्दा कर्जा प्रवाहमा संकुचन आउनुका साथै वित्तीय प्रणालीमा जोखिम बढेको थियो । सोही समस्यालाई सम्बोधन गर्न सरकारले विशेष कानुनी अधिकारसहितको यो कम्पनी स्थापना गर्न लागेको हो ।
यस कम्पनीले बैंकहरूमा थुप्रिएका खराब कर्जा र गैर–बैंकिङ सम्पत्तिहरूलाई खरिद गरी व्यवस्थापन गर्ने जिम्मेवारी पाउनेछ, जसले बैंकहरूको वित्तीय स्वास्थ्य सुधार गर्नुका साथै अर्थतन्त्रमा थप तरलता प्रवाह गर्न र कर्जा लगानीको वातावरण सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।


















