Logo

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको विशाल बजेट सार्वजनिक गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको यो बजेट हालसम्मकै सर्वाधिक ठूलो आकारको हो, जुन चालू आर्थिक वर्षको संशोधित अनुमानभन्दा करिब २५ प्रतिशतले बढी हो । सरकारले स्रोतको उपलब्धता र खर्च क्षमतालाई मध्यनजर गर्दै निकै महत्वाकांक्षी लक्ष्यसहित बजेट ल्याएको छ ।

बजेटको विनियोजन संरचना अनुसार सरकारले कुल बजेटको ५९ दशमलव ८ प्रतिशत अर्थात् १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ चालूतर्फ छुट्याएको छ । त्यसैगरी, विकास निर्माण कार्यका लागि पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् २० दशमलव ३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ अर्थात् १९ दशमलव ९ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

गत वर्ष तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेका थिए। यद्यपि, राजनीतिक परिवर्तनपछि सुशीला कार्की नेतृत्वको सरकारले यसको कार्यान्वयनमा केही परिमार्जन गरेको थियो ।

अर्धवार्षिक समीक्षामार्फत खर्चको संशोधित संरचनाले गर्दा यसपटकको बजेटले थप पुँजीगत खर्च र वित्तीय सुशासनलाई मुख्य चुनौतीका रूपमा लिएको छ। ६ प्रतिशतको आर्थिक वृद्धि र ५।५ प्रतिशतको उपभोक्ता मुद्रास्फीति कायम राख्ने लक्ष्यसहित ल्याइएको यो बजेटको सफलता अब यसको प्रभावकारी कार्यान्वयन र पुँजीगत खर्च गर्ने क्षमतामा निर्भर रहने देखिन्छ।


सम्बन्धित समाचार
भर्खरै