Logo

१६ जेठ,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने उद्देश्यसहित षड्यन्त्र भइरहेको बताएका छन्।

शुक्रबार जारी गरिएको अपानी–२ मार्फत अध्यक्ष ओलीले नयाँ र पुरानाको बहसका नाममा लोकतान्त्रिक आन्दोलनका नेतृत्वदायी शक्तिलाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गरेका हुन्।

‘नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ,’ ओलीले सन्देशमा उल्लेख गरेका छन्।

अध्यक्ष ओलीले भदौ २३ र २४ पछिको राजनीतिक घटनाक्रमले मुलुक प्रतिगमनतर्फ उन्मुख भएको दाबी गर्दै त्यसलाई संवैधानिक लोकतन्त्रको मार्गमा फर्काउन एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डा अघि सारेको बताएका छन्।

उनले अन्य लोकतान्त्रिक दलहरूले उक्त एजेन्डामा साथ नदिएका कारण एमाले पनि निर्वाचनमा सहभागी हुन बाध्य भएको उल्लेख गरेका छन्। ‘प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संवैधानिक लोकतन्त्रको बाटोमा फर्काउन प्रतिनिधिसभाको पुनर्स्थापना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई अन्य लोकतान्त्रिक दलहरूले साथ नदिएकाले हाम्रो पार्टी समेत निर्वाचनमा जानुपरेको थियो,’ उनले बताएका छन्।

ओलीले निर्वाचनको परिणाम एमालेको पक्षमा नआएको स्वीकार गर्दै प्रमुख लोकतान्त्रिक दलहरूले पनि अपेक्षित सफलता हासिल गर्न नसकेको टिप्पणी गरेका छन्।

‘निर्वाचनको परिणाम हाम्रो पार्टीको पक्षमा रहेन। नेपालका प्रमुख लोकतान्त्रिक पार्टीहरूको पक्षमा समेत रहेन,’ उनले उल्लेख गरेका छन्।

यसैबीच अध्यक्ष ओलीले निर्वाचन प्रक्रियाप्रति समेत प्रश्न उठाएका छन्। उनले पछिल्लो निर्वाचन अघिल्ला निर्वाचनहरूभन्दा फरक रहेको र त्यसको परिणाम पनि स्वाभाविक नदेखिएको दाबी गरेका छन्।

‘यो निर्वाचन अघिपछिका निर्वाचनजस्तो रहेन। यसको परिणाम पनि स्वाभाविक रहेन,’ ओलीले अपानीमा उल्लेख गरेका छन्।

निर्वाचनसम्बन्धी आफ्नो धारणा र विश्लेषण पार्टीले समीक्षा प्रतिवेदनमार्फत सार्वजनिक गर्ने पनि उनले बताएका छन्।


सम्बन्धित समाचार