१६ जेठ,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला सशक्तिकरण तथा लैङ्गिक समानता प्रवर्द्धनका लागि देशव्यापी अभियान सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्।
आठौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले महिला सशक्तिकरण र न्यायपूर्ण समाज निर्माणमा बाधक रहेका सामाजिक कुरीति तथा लैङ्गिक हिंसाको अन्त्यका लागि कानुनी उपचारसँगै सामाजिक चेतना अभिवृद्धि गर्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्री शाहले राज्यले अवलम्बन गरेको समावेशी नीति तथा कार्यक्रमका कारण विभिन्न राज्य संयन्त्र, क्षेत्र र निकायमा महिलाको प्रतिनिधित्व तथा सहभागितामा उल्लेखनीय वृद्धि भएको बताए। तर पितृसत्तात्मक सोच, बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकजस्ता कुप्रथाले अझै पनि महिला सशक्तिकरणमा अवरोध सिर्जना गरिरहेको उनको भनाइ छ।
उनले सबै प्रकारका लैङ्गिक, घरेलु तथा डिजिटल हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिँदै लैङ्गिकमैत्री व्यवहारको विकासका लागि देशव्यापी अभियान सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले समतामूलक समाज निर्माणका लागि सरकारले महिलाको सर्वाङ्गीण उत्थान र सशक्तिकरणमा विशेष ध्यान दिने तथा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गर्ने नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तिकरणमार्फत उनीहरूको प्रतिस्पर्धात्मक क्षमता विकास गर्न र महिलामैत्री संस्कृति निर्माण गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिएका छन्।





















