१७ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार देखिएको छ ।
रुघा, ज्वरो र हल्का निमोनियाको समस्या देखिएपछि चिकित्सकको सल्लाहमा शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना हुनुभएका दाहालको स्वास्थ्य हाल स्थिर र सुधारोन्मुख रहेको छ । उपचारमा संलग्न टोलीले उहाँको स्वास्थ्यमा राम्रो प्रगति भइरहेको जनाएको छ ।
अस्पतालमा स्वास्थ्यलाभ गरिरहनुभएका दाहाललाई आइतबार भेट्न पुग्नुभएका नेकपाका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । ‘स्वास्थ्यमा सुधार भइरहेको छ, अहिले उपचार चलिरहेको छ । भोलिसम्म अस्पतालमै रहनुहुनेछ र त्यसपछि डिस्चार्ज हुनुहुनेछ,’नेता दीपशिखाले भन्नुभयो । बाहिर चर्चा भएजस्तो स्वास्थ्य अवस्था गम्भीर नरहेको पनि उहाँले प्रष्ट पार्नुभयो ।
अस्वस्थताका कारण दाहाल पछिल्ला केही दिनयता सार्वजनिक कार्यक्रमबाट टाढा हुनुहुन्थ्यो सोही कारण उहाँ जेठ १५ गते टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोह र संघीय संसद्को बजेट अधिवेशनमा पनि सहभागी हुन सक्नुभएको थिएन ।
चिकित्सकहरूले अहिले उहाँलाई भेटघाट नगर्न र आराम गर्न सल्लाह दिएका छन् । भोलिसम्म अस्पतालबाट डिस्चार्ज हुने भएपछि उहाँ छिट्टै नियमित कार्यमा फर्कने अपेक्षा गरिएको छ ।




















