१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले व्यक्त गरेको धारणालाई लिएर नेकपा (एमाले)ले कडा आपत्ति जनाएको छ ।
एमालेका प्रमुख सचेतक ऐन महरले बैठकको कारबाहीका क्रममा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली २०७९ विपरीत अभिव्यक्ति दिएको भन्दै सो शब्दहरू संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् । सभामुखले संसद्को नियमावलीको गलत व्याख्या गरेको उनको मुख्य आरोप छ ।
विवादको चुरोमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन र त्यसपछिको प्रश्नोत्तर कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर अघि बढाउन चाहेका थिए, तर विपक्षी दलहरूले नियमावलीको प्रक्रियाबारे प्रश्न उठाएका थिए ।
सोही क्रममा सभामुख अर्यालले, ‘नियमावलीको कुनै पनि नियममा १५ जनाले मात्र प्रश्न सोध्न पाउने भन्ने लिखित रूपमा छैन,’ भनी टिप्पणी गरेका थिए । सभामुखको यही भनाइप्रति एमालेले आपत्ति जनाउँदै यो नियमावलीको नियम ५६ को उपनियम ५ विपरीत रहेको दाबी गरेको छ ।
उक्त नियमावलीको नियम ५६ को उपनियम ५ मा स्पष्ट रूपमा भनिएको छ,’ यस नियम अन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा पन्ध्र जना सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् । ‘प्रमुख सचेतक महरले नियमावलीमा प्रष्ट व्यवस्था हुँदाहुँदै सभामुखले गैरजिम्मेवार र गलत व्याख्या गरेको जिकिर गर्दै उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने अडान राखेका छन् ।
सभामुखको भनाइ र एमालेको नियमापत्तिले गर्दा आजको बैठकमा संसदीय अभ्यास र नियमावलीको व्याख्यालाई लिएर निकै पेचिलो बहस सिर्जना भएको छ ।




















