१८ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले सोमबार पर्सा जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लगेको छ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा खटिएको प्रहरी टोलीले घिमिरेलाई अदालत परिसरबाटै लिएर गएको हो। घिमिरे मेयर सिंहविरुद्ध जारी पक्राउ पुर्जीसम्बन्धी कानुनी प्रक्रिया बुझ्न अदालत पुगेका बेला प्रहरीले उनलाई सोधपुछका लागि लगेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले घिमिरेलाई पक्राउ नगरिएको स्पष्ट पार्दै मेयर सिंहसम्बन्धी केही विषयमा जानकारी लिनका लागि मात्र बोलाइएको बताए। उनका अनुसार घिमिरेसँग आवश्यक सोधपुछ भइरहेको छ।
यसअघि नागरिकता लिखतसम्बन्धी कसुरको अनुसन्धानका क्रममा पर्सा जिल्ला अदालतले गत जेठ १२ गते मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएको भोलिपल्ट मेयर सिंह आफैँ अदालतमा उपस्थित भएका थिए। उनले आफू न्यायिक प्रक्रियामा सहयोग गर्न स्वेच्छाले अदालत पुगेको बताएका थिए। तर मुद्दाको चापका कारण त्यस दिन सुनुवाइ हुन नसकेपछि अदालत प्रशासनसँग समन्वय गरी फर्किएको उनको भनाइ थियो।
अदालतले मेयर सिंह, उनकी कान्छी श्रीमती रिता भट्टराई तथा वीरगञ्ज महानगरपालिका वडा नं। ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।
उक्त मुद्दामा रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नी छोरीका रूपमा देखाई फर्जी जन्मदर्ताका आधारमा नागरिकता बनाएको आरोप लगाइएको छ। मेयर सिंहले भने रिता भट्टराई आफ्नी दोस्रो पत्नी भएको दाबी गर्दै आएका छन्।
सरकारी वकिल कार्यालयका अनुसार लियाकत अलीले २०८० माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात तथा नागरिकता किर्तेसम्बन्धी उजुरी दिएका थिए। सोही उजुरीका आधारमा चारवटा मुद्दा दर्ता भएका छन्, जसमध्ये लिखतसम्बन्धी कसुरको मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।




















