१८ जेठ,वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै विद्युतीय सवारीसाधन (ईभी) आयातमा उल्लेखनीय वृद्धि भएको छ। समीक्षा अवधिमा ४ अर्ब २ करोड रुपैयाँभन्दा बढी मूल्यका १५ हजार २७१ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ईभी आयातको मूल्य २ अर्ब ३७ करोड रुपैयाँ अर्थात् १४३.६० प्रतिशतले बढेको हो। गत वर्ष सोही अवधिमा १ अर्ब ६५ करोड रुपैयाँ मूल्यका ९ हजार ४२ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए।
ईभी आयातसँगै राजस्व संकलनमा पनि उल्लेखनीय वृद्धि भएको छ। गत वर्ष ८१ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष आयात वृद्धि भएसँगै राजस्वमा समेत सुधार आएको भन्सार कार्यालयले जनाएको छ।
विशेषगरी ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय कार, जीप र भ्यानको आयात उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ८७ करोड रुपैयाँ मूल्यका ६५७ वटा यस्ता चारपाङ्ग्रे सवारीसाधन आयात हुँदा सरकारले १ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्ष सोही अवधिमा यस वर्गका केवल ६ वटा सवारीसाधन मात्र आयात भएका थिए।
विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनप्रति पनि उपभोक्ताको आकर्षण बढ्दै गएको देखिएको छ। समीक्षा अवधिमा १ अर्ब १७ करोड रुपैयाँ मूल्यका ८ हजार ८६७ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात भएका छन्। यसबाट ३८ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्ष सोही अवधिमा ४ हजार ८३४ वटा विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन आयात भएका थिए।
विद्युतीय सवारीसाधनसँगै इन्धन र विद्युत् दुवैबाट चल्ने सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयातमा पनि वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ३१ अर्ब ३१ करोड रुपैयाँ मूल्य बराबरका यस्ता सवारीसाधन र पार्टपुर्जा वीरगञ्ज नाका हुँदै आयात भएका छन्। यो गत वर्षको तुलनामा ९ अर्ब ६५ करोड रुपैयाँ अर्थात् ४४.५८ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा १ अर्ब २५ करोड रुपैयाँ मूल्यका ६२८ वटा परम्परागत जीप, कार र भ्यान आयात हुँदा ३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै, ७ अर्ब ३२ करोड रुपैयाँ मूल्यका ५१ हजार ४२३ वटा अन-एसेम्बल्ड मोटरसाइकल आयात भएका छन्, जसबाट ७ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।
भन्सार तथ्यांकले पछिल्ला वर्षहरूमा नेपालमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण तीव्र रूपमा बढ्दै गएको संकेत गरेको छ।




















