Logo

१८ जेठ, काठमाडौँ । पछिल्लो दश दिनको अवधिमा ट्राफिक नियमको पालना नगर्ने २१ हजार दुई सय सवारी चालक कारबाहीमा परेका छन् ।

जेठ ८ गतेदेखि १७ गतेसम्म गरिएको विशेष निगरानी र जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन् । ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार ती चालकहरूलाई गरिएको कारबाहीबापत राज्य कोषमा १ करोड ४१ लाख २ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

सडक सुरक्षालाई थप चुस्त बनाउन र नियमको परिपालना गराउन प्रहरीले नियमित जाँचलाई तीव्रता दिएको हो । ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमा मुख्यतया लेन अनुशासनको पालना नगर्ने, तीव्र गतिमा सवारी चलाउने, ट्राफिक सङ्केत तथा नियमको बेवास्ता गर्ने र सवारी चालक अनुमतिपत्र तथा आवश्यक कागजात नबोक्ने चालकहरू रहेका छन् ।

सडक दुर्घटना न्यूनीकरण र अनुशासन कायम गर्न यस्ता कारबाहीलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ भने सवारी चालकहरूलाई सडक प्रयोग गर्दा थप जिम्मेवार बन्न र नियमको पूर्ण पालना गर्न प्रहरीले आग्रह गरेको छ ।


सम्बन्धित समाचार