१९ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा सभामुख डोलप्रसाद (डीपी) आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रमसमेत तय गरिएको छ ।
बजेटमाथिको छलफलका लागि संसद् बैठक बोलाइए पनि सदनको कारबाही सहज रूपमा अगाडि बढ्नेमा आशंका देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमाका सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने अडान विपक्षी दलहरूले कायमै राखेका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उक्त विवादित अंश रेकर्डबाट नहटाएसम्म संसद् अवरोध जारी रहने स्पष्ट पारेका छन् । सरकारले बजेटमाथिको छलफल अगाडि बढाउने तयारी गरे पनि प्रमुख राजनीतिक दलहरूबीचको यो गतिरोधले आजको बैठक पनि प्रभावित हुने सम्भावना देखिएको छ ।




















