Logo

१९ जेठ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल–भारत सीमासम्बन्धी विषयमा संसद्मा दिएको विवादास्पद अभिव्यक्तिप्रति नेपाल बार एशोसिएशनले गम्भीर आपत्ति जनाएको छ ।

बारले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइलाई ‘गैरजिम्मेवार’,‘हलुका टिप्पणी’ र ‘राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघात’ को संज्ञा दिएको छ । प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले दशकौँदेखि नेपालले राख्दै आएको अडान र अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिने कूटनीतिक दाबीलाई नै कमजोर बनाएको बारको निष्कर्ष छ ।

बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सीमा विवादजस्तो संवेदनशील विषयलाई भावनात्मक वा हठात् निर्णयका आधारमा नभई ऐतिहासिक तथ्य, अकाट्य प्रमाण र नाप–नक्साका आधारमा मात्रै टुङ्गो लगाउनुपर्नेमा जोड दिइएको छ । ‘नेपालको एक इन्च भूमि पनि कसैलाई छोड्न सकिँदैन,’ विज्ञप्तिमा उल्लेख छ ।

साथै, खेतीपाती वा नदीको धार परिवर्तनका कारण हुने प्राविधिक ‘क्रस होल्डिङ’ लाई राज्यस्तरबाट हुने रणनीतिक भूमि अतिक्रमणसँग तुलना गर्नु प्रधानमन्त्रीको कूटनीतिक अज्ञानता भएको भन्दै बारले कडा आलोचना गरेको छ ।

बारले भविष्यमा राष्ट्रिय हित र भौगोलिक अखण्डताका विषयमा सरकारलाई अत्यन्त गम्भीर, स्पष्ट र जिम्मेवार ढंगले प्रस्तुत हुन गम्भीर ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाट सार्वजनिक रूपमा आएको यस्तो अभिव्यक्तिले मुलुकको सार्वभौमिकतामाथि नै प्रश्न उठाएको भन्दै बारले प्रधानमन्त्रीको भनाइप्रति असन्तुष्टि पोखेको हो ।


सम्बन्धित समाचार