Logo

 २२ जेठ,काठमाडौं । जिल्ला प्रहरी कार्यालय खोटाङले आत्महत्या दुरुत्साहन मुद्दामा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने निवासी ४९ वर्षीय कुमार थापा रहेका छन्।

प्रहरीका अनुसार खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी सेम्मा निवासी ३२ वर्षीया देबी बिष्ट (कार्की) गत जेठ २० गते घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

घटनापछि गरिएको अनुसन्धानका क्रममा कुमार थापाले केही समयदेखि सामाजिक सञ्जालमार्फत देबीलाई मानसिक यातना दिँदै आएको र त्यसकै कारण उनलाई आत्महत्या गर्न बाध्य बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेत ले जानकारी दिए।

प्रहरीले पक्राउ परेका थापाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाएको छ। जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप अनुमति लिएपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक देबी बिष्ट र पक्राउ परेका कुमार थापा दुवै विवाहित रहेका छन्।


सम्बन्धित समाचार