२२ जेठ,काठमाडौं । नेपाल प्रहरीले मापदण्डविपरीत गरिएको एसएसपी शान्तिराज कोइरालाको सरुवा रोक्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा एसएसपी सुरेश काफ्लेलाई खटाएको छ।
नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता एसएसपी दीपशमशेर जबराका अनुसार १८ जेठमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा सरुवा गरिएका कोइरालाको सरुवा निर्णय संशोधन गरिएको हो। अब उनको स्थानमा एसएसपी काफ्लेले कार्यालयको नेतृत्व गर्नेछन्।
कोइराला यसअघि नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्ज (पर्सा) का प्रमुख थिए। त्यहाँबाट उनलाई सिधै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको थियो। तर उक्त निर्णय नेपाल प्रहरीले लागू गरेको सरुवा मापदण्डविपरीत रहेको भन्दै आलोचना भएको थियो।
नेपाल प्रहरीले सरुवालाई व्यवस्थित र पारदर्शी बनाउन विभिन्न कार्यालयलाई ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गर्दै सरुवा मापदण्ड लागू गरेको छ। कार्यालयको कामको चाप, मुद्दाको अवस्था र जिम्मेवारीका आधारमा यस्तो वर्गीकरण गरिएको हुन्छ।
मापदण्डअनुसार एउटा कार्यालयमा इन्चार्जको जिम्मेवारी सम्हालिरहेको अधिकृतलाई सिधै अर्को कार्यालयको इन्चार्जका रूपमा सरुवा गर्न नपाइने व्यवस्था छ। यद्यपि, कोइरालाको हकमा वीरगञ्जस्थित प्रदेश प्रहरी कार्यालयको प्रमुखबाट सिधै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको थियो।
पछि सरुवा निर्णय पुनरावलोकन गर्दै नेपाल प्रहरीले उक्त त्रुटि सच्याएको र कोइरालाको स्थानमा एसएसपी सुरेश काफ्लेलाई ट्राफिक कार्यालयको प्रमुख बनाएर पठाएको जनाएको छ।

















