Logo

२२ जेठ,काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ। निर्धारित समयभित्र प्रतिवेदन तयार गर्न नसकेको समितिले पाँच दिनको थप समय लिएपछि प्रतिवेदनलाई अन्तिम रूप दिएको हो।

गुरुङमाथि अकुत सम्पत्ति आर्जन गरेको, सम्पत्तिको स्रोत स्पष्ट नभएको तथा विवादित व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको आरोप सार्वजनिक भएपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

उनीमाथि छानबिन गर्न सरकारले वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका छन्।

समितिले प्रधानमन्त्रीसँग समय मिलाएर प्रतिवेदन बुझाउने तयारी गरिरहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार छानबिन समितिले तयार पारेको प्रतिवेदनमा गुरुङमाथि लगाइएका आरोप पुष्टि नभएको निष्कर्षसहित उनलाई सफाइ दिने संकेत गरिएको छ।

गुरुङको राजीनामापछि गृहमन्त्रालयको जिम्मेवारी हालसम्म खाली नै रहेको छ। राजनीतिक वृत्तमा छानबिन प्रतिवेदनका आधारमा प्रधानमन्त्री वालेन्द्र शाहले गुरुङलाई पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्काउने सम्भावनाबारे चर्चा सुरु भएको छ।

यद्यपि, प्रतिवेदन सार्वजनिक नभएसम्म समितिको निष्कर्षबारे आधिकारिक जानकारी आएको छैन। सरकारको आगामी निर्णय प्रतिवेदन बुझाइएपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार