Logo

२२ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका दुर्गा प्रसाईंबीच नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको छ।

दुवै पक्षले शुक्रबार ११ बुँदे सहमतिमा हस्ताक्षर गर्दै संवैधानिक राजसंस्था पुनर्स्थापना र वैदिक सनातन हिन्दु अधिराज्यसहितको राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन्।

सहमति पत्रमा किरात, बौद्धसहित वैदिक सनातन हिन्दु अधिराज्यको अवधारणासहित राष्ट्रवादी शक्ति निर्माण गर्ने उल्लेख गरिएको छ। उनीहरूले लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकता औंल्याउँदै नयाँ दल गठन अपरिहार्य भएको बताएका छन्।

सहमति अनुसार नयाँ दलले पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शनलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगाल्नेछ। साथै, सुधारमुखी संघीयता, ‘एक पटकको नेपाली सधैंको नेपाली’ नीति र दोहोरो नागरिकता सम्बन्धी व्यवस्था पनि एजेन्डामा समावेश गरिएको छ।

दुवै नेताले विचार मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन तथा व्यक्तिहरूलाई समेत समेटेर नयाँ राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन्।

हेर्नुहोस् सम्झौता :-


सम्बन्धित समाचार