२२ जेठ,वीरगञ्ज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै हातपात र दुर्व्यवहार भएको घटनापछि गाउँपालिकाको कामकाज प्रभावित भएको छ। घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय सप्तरीमा ध्यानाकर्षणपत्र बुझाएका छन्।
बुधबार दिउँसो गाउँपालिका कार्यालयमा प्रवेश गरेको एक समूहले प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झामाथि अभद्र व्यवहार, हातपात तथा मानसिक दबाब सिर्जना गरेको आरोप कर्मचारीहरूको छ। सो क्रममा कार्यालयमा तोडफोडसमेत गरिएको जनाइएको छ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय लालापट्टीसँग सम्बन्धित विषयलाई लिएर असम्बन्धित व्यक्तिहरूको समूह कार्यालयमा प्रवेश गरी अराजक गतिविधि गरेको थियो।
“प्रमुख प्रशासकीय अधिकृतमाथि गालीगलौज र हातपात भयो। अन्य कर्मचारीमाथि पनि हुलहुज्जत गरियो र कार्यालयमा तोडफोडसमेत गरिएको छ,” अध्यक्ष चौधरीले बताए।
घटनापछि प्रमुख प्रशासकीय अधिकृत झा कार्यालयमा उपस्थित हुन छाडेका छन् भने कर्मचारीहरू पनि त्रसित बनेका कारण गाउँपालिकाको नियमित कामकाज प्रभावित भएको छ। विशेषगरी आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा जेठ मसान्तको चापका बीच सेवा प्रवाहमा असर परेको जनाइएको छ।
घटनाको छानबिन गर्न गाउँपालिकाले शिक्षा शाखा प्रमुख सन्तोषकुमार रायको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
यस्तै गाउँ कार्यपालिकाको बैठकले राष्ट्रसेवक कर्मचारीमाथि हुने कुनै पनि प्रकारको दुर्व्यवहार अस्वीकार्य रहेको ठहर गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी पक्राउ तथा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको छ।
कर्मचारीहरूले पनि घटनाका मुख्य योजनाकारसहित संलग्न सबै व्यक्तिको पहिचान गरी कानुनबमोजिम अनुसन्धान तथा कारबाही गर्न, साथै गाउँपालिका कार्यालय र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।

















