२२ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनले भारतका उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन्।
भारत बसाइका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहयोग तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
यसैगरी, उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गरेका थिए।
लामिछाने नेतृत्वको भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल तथा प्रदीप आचार्य सहभागी थिए।
भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका लामिछानेले भ्रमण उपलब्धिमूलक रहेको बताएका छन्। रास्वपाले भ्रमणबारे विस्तृत जानकारी छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

















