Logo

२३ जेठ,काठमाडौं । अर्थ मन्त्रालयले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई विद्युतीय सवारीसाधनको भन्सार जाँचपास प्रकरणसँग जोडेर फैलाइएका अफवाह तथा चरित्रहत्या गर्ने प्रयासप्रति गम्भीर आपत्ति जनाएको छ।

अर्थमन्त्रीका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जारी गरेको विज्ञप्तिमा बजेट घोषणा हुनुअघि केही भन्सार नाकाबाट विद्युतीय गाडीको जाँचपास भएको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि त्यसमा अर्थमन्त्रीलाई अनावश्यक रूपमा जोडिएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार रसुवागढी नाकामा भन्सार बिन्दुसम्म नपुगेका सवारीसाधनको समेत जाँचपास भएको विषयमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिसपछि जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरी भन्सार विभागमा तानिएको छ। मन्त्रालयले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

त्यस्तै, मुस्ताङस्थित कोरोला नाकाबाट जाँचपास भएका गाडीको विषयमा पनि मन्त्रालयको छानबिन टोलीले स्थलगत अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ। अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधिसहितको संयुक्त टोली फिल्डमै खटिएको मन्त्रालयको भनाइ छ।

प्रारम्भिक अनुसन्धानका क्रममा भन्सार छलीको आशङ्कामा सुरक्षाकर्मीको सहयोगमा केही सवारीसाधन नियन्त्रणमा लिइएको र सम्बन्धित आयातकर्ता कम्पनीमाथि गहिरो अनुसन्धान भइरहेको सचिवालयले स्पष्ट पारेको छ। घटनासम्बन्धी विस्तृत विवरण छानबिन प्रक्रिया पूरा भएपछि सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।


सम्बन्धित समाचार