२९ जेठ, (माडी) चितवन। परम्परागत चुलोको धुवाँले वर्षौंदेखि प्रभावित हुँदै आएका माडीका घरपरिवारलाई स्वच्छ र सुरक्षित भान्सातर्फ उन्मुख गराउन माडी नगरपालिकाले सुधारिएको चुलो वितरण कार्यक्रम अघि बढाएको छ। नगरपालिकाले पहिलो चरणमा ४ सय घरपरिवारलाई अनुदानमा सुधारिएको चुलो उपलब्ध गराउने तयारी गरेको हो।
नगरपालिकाले यसअघि नै इच्छुक नागरिकबाट आवेदन सङ्कलन गरिसकेको छ। प्राप्त विवरणअनुसार ४७६ जनाले सुधारिएको चुलोका लागि आवेदन दिएका छन्। तर उपलब्ध कोटा ४ सय वटा मात्रै भएकाले पहिलो चरणमा ४ सय घरपरिवारलाई समेटिने र बाँकी ७६ जनालाई दोश्रो चरणमा प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ।
माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोका अनुसार कार्यक्रमको मुख्य उद्देश्य ग्रामीण भान्सामा हुने धुवाँजन्य स्वास्थ्य समस्या न्यूनीकरण गर्नुका साथै वातावरण संरक्षण र इन्धनको प्रभावकारी उपयोगलाई प्रोत्साहन गर्नु हो। उनका अनुसार चुलोको कुल लागतको ८० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवर्द्धन कार्यालयबाट अनुदानस्वरूप प्राप्त हुनेछ। नगरपालिकाले १५ प्रतिशत लागत व्यहोर्नेछ भने लाभग्राहीको सहभागिता ५ प्रतिशत रहनेछ।
सुधारिएको चुलोमा विद्युतीय पङ्खाको प्रयोग गरी आगो बल्ने व्यवस्था गरिएको छ। यसमा दाउराका साना टुक्रा प्रयोग गर्न सकिने भएकाले परम्परागत चुलोको तुलनामा कम दाउरा खपत हुने र खाना पकाउने प्रक्रिया अझ प्रभावकारी बन्ने बताइएको छ। साथै धुवाँको मात्रा न्यून हुने भएकाले घरभित्रको वायु प्रदूषण कम हुने अपेक्षा गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले ग्रामीण क्षेत्रमा अझै पनि धेरै परिवार परम्परागत चुलोमा निर्भर रहेको उल्लेख गर्दै त्यसबाट निस्कने धुवाँले विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा दीर्घकालीन असर पार्ने बताए। सुधारिएको चुलोको प्रयोगले यस्ता जोखिम कम हुनुका साथै इन्धनको खपत घटेर आर्थिक बचतसमेत हुने उनको भनाइ छ।
उनले वन क्षेत्रमा पर्ने दबाब कम गर्न, दाउराको अनावश्यक खपत नियन्त्रण गर्न तथा घरभित्रको वातावरण स्वच्छ बनाउन सुधारिएको चुलो प्रभावकारी माध्यम बन्न सक्ने बताए। स्थानीय सरकार नागरिकको जीवनस्तर सुधार र स्वच्छ ऊर्जा प्रवर्द्धनमा केन्द्रित रहेकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले जानकारी दिए।
माडी नगरपालिकाले सञ्चालन गर्न लागेको यो कार्यक्रमलाई धुवाँमुक्त भान्सा निर्माण अभियानको महत्वपूर्ण सुरुआतका रूपमा हेरिएको छ। स्वच्छ ऊर्जा प्रयोगको विस्तारसँगै स्वास्थ्य संरक्षण, वातावरणीय सन्तुलन र दिगो विकासका लक्ष्य हासिल गर्न समेत यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















