३० जेठ, कलैया (बारा)। राहदानी (पासपोर्ट) लिनका लागि घण्टौँ यात्रा गरेर सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयको लाइनमा बस्नुपर्ने बाराबासीको पुरानो बाध्यता अब हटेको छ ।
सरकारले सार्वजनिक सेवालाई नागरिकको घरदैलोमै पुर्याउने नीति लिएसँगै बारामा हुलाक सेवामार्फत सिधै सेवाग्राहीको घरमै राहदानी पुर्याउने व्यवस्था सुरु भएको हो । यो नयाँ व्यवस्था कार्यान्वयनमा आएकै पहिलो दिन शुक्रबार जिल्लाका विभिन्न स्थानीय तहका २६ जना नागरिकले आफ्नै घरमा राहदानी प्राप्त गरेका छन् ।
सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउने उद्देश्यले गत वैशाख २५ गते जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला हुलाक कार्यालय बाराबीच सम्झौता भएको थियो । सोही सम्झौता बमोजिम बिहीबार प्रशासनले पहिलो चरणमा २८ वटा तयारी राहदानी हुलाक कार्यालयलाई हस्तान्तरण गरेको थियो ।
जिल्ला हुलाक कार्यालय बाराका खरिदार गौतम सिंह बस्तीका अनुसार प्राप्त राहदानीमध्ये २६ वटा शुक्रबार नै सम्बन्धित व्यक्तिको हातमा पुर्याइसकिएको छ भने बाँकी दुई वटा वितरणको अन्तिम प्रक्रियामा छन् । पहिलो दिन हुलाक कार्यालय जितपुरसिमराले १० मध्ये ९ वटा, निजगढले प्राप्त ८ वटै, र कलैयास्थित जिल्ला हुलाक कार्यालयले प्राप्त २ मध्ये एउटा राहदानी वितरण गरेका छन् । यसैगरी देवताल, बारागढी, सुवर्ण गाउँपालिकामा १/१ वटा, कोल्हवीमा २ र महागढीमाई नगरपालिकामा ३ वटा राहदानी सेवाग्राहीकै घरदैलोमा पुगेर हस्तान्तरण गरिएको छ ।
यसअघि वैदेशिक रोजगारी, उच्च शिक्षा वा अन्य प्रयोजनका लागि राहदानी बनाउने नागरिकहरू आवेदन दिँदा र बुझ्दा गरी पटक-पटक प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता थियो । दुर्गम गाउँबाट सदरमुकाम आउँदा सेवाग्राहीको समय र अतिरिक्त पैसा समेत खर्च हुने गरेको थियो । यो नयाँ सेवाले नागरिकको समय र खर्च बचत गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा हुने अनावश्यक भीडभाडलाई समेत उल्लेख्य रूपमा कम गर्ने विश्वास गरिएको छ ।
पहिलो दिनको वितरण कार्य निकै उत्साहजनक र प्रभावकारी देखिएकाले आगामी दिनमा जिल्लाका सबै स्थानीय तहका कुना-कुनासम्म यस सेवालाई अझ व्यवस्थित रूपमा विस्तार गरिने जिल्ला हुलाक कार्यालय बाराले जनाएको छ ।
















