Logo

२७ असार, काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भई उपचारका क्रममा शुक्रबार निधन भएका गणेश नेपालीको परिवारलाई काठमाडौँ महानगरपालिकाले अभिभावकत्व प्रदान गर्ने भएको छ । महानगरपालिकाले शुक्रबार साँझ एक आकस्मिक विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई मानवीय सहयोग, रोजगारी र उनका सन्ततिलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरेको हो ।

महानगरपालिकाले मृतक नेपालीको परिवारको आर्थिक अवस्था र वर्तमान सङ्कटलाई मध्यनजर गर्दै यो निर्णय लिइएको जनाएको छ। सो सम्बन्धमा आगामी नगर कार्यपालिकाको बैठकबाट विधिसम्मत रूपमा आवश्यक निर्णय गराई राहत र रोजगारीको प्रक्रिया तत्काल अघि बढाइने महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैबिच, राहदानी विभाग जस्तो संवेदनशील सरकारी निकाय अगाडि एक नागरिकले किन र कस्तो परिस्थितिमा आत्मदाह गर्नुपर्‍यो भन्ने विषयमा गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरिसकेको छ। सञ्चार माध्यममार्फत गृहको निर्णयबारे जानकारी प्राप्त भएको उल्लेख गर्दै महानगरले उक्त समितिको तथ्यगत अनुसन्धानमा आफ्नोतर्फबाट पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

महानगरपालिकाका अनुसार छानबिन समितिले दिने प्रतिवेदन र सुझावका आधारमा आगामी दिनमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदमहरू चालिनेछन्। यस्ता दुखद र अप्रत्याशित घटनाहरू भविष्यमा दोहोरिन नदिनका लागि नेपाल सरकार र गृह प्रशासनसँग आवश्यक समन्वय, सहकार्य तथा नीतिगत समाधानका उपायहरू पहिचान गर्न महानगर तयार रहेको विज्ञप्तिमा भनिएको छ।

नागरिकले आत्मदाह गर्ने जस्तो कारुणिक र चरम निराशाको अवस्था आउनु सिंगो राज्य संयन्त्रका लागि सोचनीय विषय बनेको छ। घटनालाई लिएर सामाजिक सञ्जाल र सडकमा विभिन्न खाले आक्रोश र प्रतिक्रियाहरू आउन थालेपछि काठमाडौँ महानगरपालिकाले यस संवेदनशील घडीमा सबै पक्षलाई संयमित रहन, शान्तिपूर्ण वातावरण बनाउन र धैर्य धारण गर्न विशेष अपिलसमेत गरेको छ। मृतक नेपालीको पार्थिव शरीरलाई शुक्रबार नै पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।


सम्बन्धित समाचार