Logo

 ३० असार,काठमाडौं । बांग्लादेशको दक्षिण–पूर्वी क्षेत्रमा लगातारको भारी वर्षापछि आएको भीषण बाढी र पहिरोका कारण कम्तीमा ५४ जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरूका अनुसार तटीय जिल्ला कोक्स बजार सबैभन्दा बढी प्रभावित भएको छ।

बांग्लादेशको विपद् व्यवस्थापन मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार प्राकृतिक विपत्तिका कारण दक्षिण–पूर्वी क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ भने धेरै समुदायको अन्य क्षेत्रसँगको सम्पर्क विच्छेद भएको छ।

मन्त्रालयका अनुसार कोक्स बजारमा गत साता मूसलाधारे वर्षापछि गएको पहिरोले ठूलो क्षति पुर्‍याएको छ। त्यहाँ रहेका रोहिंग्या शरणार्थी शिविरहरूमा जमिन भासिँदा बालबालिकासहित कैयौँ मानिसको भग्नावशेषमा पुरिएर मृत्यु भएको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकाय र उद्धार टोलीहरूले उद्धार तथा राहत कार्य जारी राखेका छन्। तर, धेरै गाउँ अझै पनि कम्मरसम्मको पानीमा डुबेका छन् भने केही तल्लो तटीय क्षेत्रमा बाढीको सतह टिनका छानाभन्दा माथिसम्म पुगेको बताइएको छ। सुरक्षित स्थानको खोजीमा स्थानीयवासी विस्थापित भइरहेका छन्।

विपद् व्यवस्थापन मन्त्रालयका अनुसार बाढीका कारण हाल १० लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। पीडितहरूले राहत तथा उद्धार कार्य सुस्त रहेको र उपलब्ध सहायता आधारभूत आवश्यकता पूरा गर्न पर्याप्त नभएको भन्दै स्थानीय प्रशासनप्रति असन्तुष्टि जनाएका छन्।


सम्बन्धित समाचार