Logo

९ साउन,वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुखसहित दुई जनालाई साढे ७ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी रहेका छन्। उनीहरूलाई अख्तियारको बर्दिबासबाट खटिएको टोलीले साउन ८ गते नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार बोरिङ तथा मोटर जडानसम्बन्धी काम सम्पन्न भएपछि त्यसको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरिएको थियो। काम सम्पन्न भए पनि भुक्तानीका लागि दुःख–हैरानी दिँदै घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको जनाएको छ।

अनुसन्धानका क्रममा अख्तियारको टोलीले डिभिजन प्रमुख ढकाल र अधिकृत चौधरीलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बागमती नगरपालिका–१२ स्थित डिभिजन प्रमुखको क्वार्टरबाट नियन्त्रणमा लिएको हो।

खानतलासी गर्दा उनीहरूको साथबाट घुसबापतको रकमसहित स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ र तीन थान मोबाइल फोनसमेत बरामद गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।


सम्बन्धित समाचार