२ जेठ, सिन्धुपाल्चोक । नेपाल–चीन सीमास्थित तातोपानी नाकाबाट पछिल्लो एक महिनायता खाद्य सामग्री आयातमा पूर्ण रोक लगाइएका बेला तस्करहरूले अवैध सामान भित्र्याउन अरनिको राजमार्गको चोरबाटो प्रयोग गर्न थालेका छन् ।
चीनबाट भोटेकोशी गाउँपालिका–३ बोक्चेन हुँदै अरनिको राजमार्गको ‘१० किलो’ जोड्ने भित्री सडकखण्डबाट लुकाइछिपाइ ल्याउँदै गरेको ५६ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको विद्युतीय चुरोट (भेप) सहित प्रहरीले गएराति सात जनालाई पक्राउ गरेको छ।
भोटेकोशी–३ गंजेखोला भन्ने स्थानमा ९ वटा बोराले छोपेका कार्टुनभित्र शङ्कास्पद रूपमा १ हजार ६२० थान भेप बोकेर हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी जेसी शाहका अनुसार अवैध रूपमा भेप तस्करी गर्ने कार्यमा संलग्न भोटेकोशी–४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकास विक, ४८ वर्षीय रामबहादुर विक, १७ वर्षीय विशाल रक्पाल, ३७ वर्षीय मङ्गलबहादुर थामी र बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका सबैलाई हाल इलाका प्रहरी कार्यालय कोदारीको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।
नाका सहज नभएको अवस्थामा सीमावर्ती दुर्गम पैदल मार्गको फाइदा उठाउँदै ठूलो परिमाणमा प्रविधिजन्य सुर्तीजन्य पदार्थको तस्करी हुनुले सीमा सुरक्षा र राजश्व गस्तीमाथि चुनौती थपेको छ । प्रहरीले बरामद गरिएको अवैध भेप र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि आजै भन्सार कार्यालयको जिम्मा लगाउने तयारी गरेको छ।

















