Logo

 २ जेठ,काठमाडौं । लामो समयदेखि निर्माणाधीन रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ।

नागढुङ्गा–नौबिसे तथा नारायणघाट–बुटवल सडकखण्डको स्थलगत अनुगमनपछि महानिर्देशक जैसीले अधिकांश मुख्य निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार अहिले फिनिसिङ, ट्राफिक सुरक्षा, सर्भिस लेन तथा केही सहायक संरचनाको निर्माण कार्य मात्र बाँकी रहेको छ।

उहाँले दाउन्ने क्षेत्रमा विगतका वर्षामा जस्तै सडक अवरुद्ध हुने समस्या अब नदोहोरिने दाबी गर्नुभयो। अहिले दाउन्ने क्षेत्रमा एकतर्फी दुई लेनको रिपेभमेण्ट सम्पन्न भइसकेको तथा तेस्रो लेन निर्माण तीव्र गतिमा अघि बढिरहेको उहाँले बताउनुभयो।

महानिर्देशक जैसीका अनुसार जेठ १५ गतेसम्म आयोजनाका मुख्य काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

नारायणघाट–बुटवल सडकखण्ड निर्माणमा लामो समय ढिलाइ हुँदा यात्रुहरूले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए।


सम्बन्धित समाचार