Logo

२ जेठ,वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ।कार्यालयका अनुसार साउनदेखि वैशाख मसान्तसम्म एक खर्ब ९९ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन भएको हो।

भन्सार विभागले यस अवधिका लागि वीरगञ्ज भन्सारलाई दुई खर्ब २३ अर्ब १८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो। हालसम्म लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत मात्रै राजस्व उठेको छ।

कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको बताएका छन्। उनका अनुसार पेट्रोलियम पदार्थ, सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयात वीरगञ्ज भन्सारको मुख्य राजस्व स्रोत बनेका छन्।

भन्सार विभागले चालु आर्थिक वर्षभरिका लागि कार्यालयलाई दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ। अझै दुई महिना बाँकी रहेकाले थप राजस्व सङ्कलन हुने अपेक्षा कार्यालयले गरेको छ।

कार्यालयले साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड तथा मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

यस्तै, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड, चैतमा २२ अर्ब ८२ करोड र वैशाखमा २१ अर्ब ७४ करोड रुपैयाँ राजस्व सङ्कलन गरिएको सूचना अधिकारी विष्टले जानकारी दिएका छन्।


सम्बन्धित समाचार