Logo

३ जेठ, काठमाडौं । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको नयाँ प्रकोपले उग्र रूप लिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

कंगोको पूर्वी इटुरी प्रान्तमा तीव्र गतिमा फैलिरहेको यस भाइरसका कारण हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ भन्दा बढी शंकास्पद बिरामी फेला परेका छन् । डब्लुएचओले यसलाई संकटकाल माने पनि अझै पूर्ण महामारीको श्रेणीमा भने राखेको छैन । कंगोका स्वास्थ्य मन्त्रालयका अनुसार गत अप्रिल २४ मा एक नर्सको मृत्यु भएपछि यो सङ्क्रमण फैलिएको अनुमान गरिएको छ, जहाँ हालसम्म ‘बुन्डिबुग्यो’ स्ट्रेनका ८ वटा केस पुष्टि भइसकेका छन् ।

यस पटकको प्रकोपले स्वास्थ्य विज्ञहरूमा थप चिन्ता पैदा गरेको छ, किनकि हालसम्म उपलब्ध खोप र उपचारका विधिहरू प्रायः ुजायरेु स्ट्रेनका लागि प्रभावकारी मानिन्छन् ।

तर, यसपटक देखिएको ‘बुन्डिबुग्यो’ स्ट्रेनका लागि विद्यमान औषधिले काम गर्ने वा नगर्ने भन्नेमा अन्योल छ। इटुरी प्रान्तको राजधानी बुनिया लगायतका क्षेत्रमा मृत्युदर बढ्दा स्थानीय बासिन्दाहरू त्रसित बनेका छन् । स्थानीयका अनुसार पछिल्लो एक हप्तादेखि दैनिक रूपमा मानिसहरूको ज्यान गइरहेको छ, जसका कारण सामूहिक अन्तिम संस्कार गर्नुपर्ने अवस्था समेत सिर्जना भएको छ ।

कंगोमा देखिएको यो सङ्क्रमण छिमेकी देशहरूमा पनि फैलिन थालेपछि अफ्रिकी महादेशमा उच्च सतर्कता अपनाइएको छ । युगान्डामा एक सङ्क्रमितको मृत्यु भइसकेको छ भने केन्याले आफ्ना सबै नाका र प्रवेश बिन्दुहरूमा निगरानी कडा पार्दै पूर्वतयारीका लागि विशेष टोली परिचालन गरेको छ ।

सन् १९७६ मा इबोला नदीको किनारमा पहिलो पटक फेला परेको यो ज्यानमारा भाइरस सङ्क्रमितको शारीरिक तरल पदार्थबाट सर्ने गर्दछ, जसको मृत्युदर ९० प्रतिशतसम्म रहने गरेको छ । विगतमा लाखौँको ज्यान लिइसकेको यो भाइरसको १७औँ प्रकोपले अहिले पुनः विश्वलाई गम्भीर चुनौती दिएको छ ।


सम्बन्धित समाचार