३ जेठ, काठमाडौं । नेपालको सुनचाँदी बजारमा पछिल्लो दुई कारोबार दिनमै सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ८ हजार ५ सय रुपैयाँले ओरालो लागेको हो । महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा ४ हजार ५ सय रुपैयाँले कम हो ।
अघिल्लो दिन पनि सुनको मूल्यमा ४ हजार रुपैयाँको गिरावट आएको थियो, जसले गर्दा सुन खरिद गर्ने तयारीमा रहेका उपभोक्ताहरूलाई राहत मिलेको छ ।
तथ्याङ्क अनुसार गत बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दु आसपास अर्थात् प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ पुगेको थियो । तर, शुक्रबार र आइतबार लगातार मूल्य घट्दा बजारमा नयाँ तरंग पैदा भएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ ।
अघिल्लो सातासम्म लगातार बढ्दै गएको सुनको ग्राफमा यो दुई दिनको गिरावटलाई व्यवसायीहरूले निकै ठूलो र अस्वाभाविक परिमाणका रूपमा हेरेका छन् ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ । गत बिहीबार प्रतितोला ५ हजार ७४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार झरेर ५ हजार ६० रुपैयाँमा आइपुगेको छ ।
अघिल्लो दिन मात्रै चाँदी ५ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो । बहुमूल्य धातुहरूको मूल्यमा एकैपटक आएको यो गिरावटले लगानीकर्ता र गहना व्यवसायीहरूमा चासो बढाएको छ भने आम नागरिकहरूले यसलाई बजार सस्तिने संकेतका रूपमा लिएका छन् ।




















