३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबीच हुने अन्तर बैंक कारोबारमा उल्लेख्य गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चैत मसान्तसम्म कुल ८ खर्ब ९२ अर्ब २१ करोड रुपैयाँको मात्र अन्तर बैंक कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १५ खर्ब १२ अर्ब १२ करोड रुपैयाँ रहेको थियो, जसको तुलनामा यस वर्ष कारोबार रकममा झन्डै आधाले कमी आएको देखिन्छ ।
यस अवधिमा विशेषगरी वाणिज्य बैंकहरूबीचको कारोबारमा ठूलो संकुचन आएको छ। समीक्षा अवधिमा वाणिज्य बैंकहरूले ७ खर्ब ४९ अर्ब १ करोड रुपैयाँको कारोबार गरेका छन्, जबकि अघिल्लो वर्ष यही अवधिमा उनीहरूबीच १३ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको थियो । त्यस्तै, अन्य वित्तीय संस्थाहरूको कारोबार पनि १ खर्ब ४८ अर्ब ३१ करोडबाट घटेर १ खर्ब ४३ अर्ब २० करोड रुपैयाँमा झरेको छ ।
बैंकहरूमा तरलता (लगानीयोग्य रकम) सहज हुँदा वा अन्तर बैंक ब्याजदरमा हुने परिवर्तनका कारण यस प्रकारको कारोबारमा गिरावट आएको हुनसक्ने वित्तीय विश्लेषकहरूको बुझाइ छ ।

















