Logo

३ जेठ, काठमाडौं । बुटवलको सडकमा आइतबार हजारौँको संख्यामा उत्रिएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकारको डोजर आतंकविरुद्ध विशाल शक्ति प्रदर्शन गरेका छन् ।

वैकल्पिक व्यवस्था र उचित व्यवस्थापनबिना नै वर्षौँदेखि बसोबास गर्दै आएका वस्तीहरूमा प्रशासनले डोजर चलाएर उठिबास लगाएको भन्दै नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको अगुवाइमा यो विरोध प्रदर्शन गरिएको हो । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको उक्त र्‍यालीमा रुपन्देहीसहित २२ भन्दा बढी जिल्लाका ३० हजारभन्दा बढी सर्वसाधारणको सहभागिता रहेको दाबी गरिएको छ ।

प्रदर्शनकारीहरूले मिलनचोक, अस्पताललाइन हुँदै ट्राफिक चोकसम्म पुगेर सरकारको विभेदकारी नीतिको कडा प्रतिवाद गर्दै नाराबाजी गरेका थिए ।

देशभरका १२ लाखभन्दा बढी परिवार र करिब ५० लाख नागरिक भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्याबाट पीडित रहेको अवस्थामा सरकारले मानवीय पक्षलाई बेवास्ता गरेको संघर्ष समितिको निष्कर्ष छ ।

समितिका सल्लाहकार विरेन्द्र विकका अनुसार सरकारले घरबास उजाडिदिने त्रास देखाएर लाखौँ नागरिकलाई मानसिक तनावमा पारेकाले सशक्त सडक संघर्षको विकल्प नरहेको बताउनुभयो । यो आन्दोलनलाई रुपन्देहीका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा लगायत १२ दलले ऐक्यबद्धता जनाउँदै सुकुमवासी समस्याको न्यायोचित र दीर्घकालीन समाधान हुनुपर्नेमा जोड दिएका छन् ।

आन्दोलनलाई थप व्यवस्थित बनाउन संघर्ष समितिले जेठ ४ गते बुटवलमा सातै प्रदेशका प्रतिनिधि र विज्ञहरूको सहभागितामा विशेष सम्मेलन आयोजना गर्ने तयारी गरेको छ । उक्त सम्मेलनमार्फत भूमिहीन र अव्यवस्थित बसोबासीको हकहितका लागि राष्ट्रिय स्तरको संघर्ष समिति गठन गरिने र सरकार तथा प्रमुख राजनीतिक दलहरूलाई निर्णायक दबाब दिन ठोस कार्यक्रमहरू तय गरिने समितिका सचिव रामचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

वस्तीमा डोजर चलाउनुपूर्व नागरिकको गाँस र बासको संवैधानिक हक सुरक्षित हुनुपर्ने माग राख्दै बुटवलमा भएको यो प्रदर्शनले सरकारमाथि ठूलो राजनीतिक दबाब सिर्जना गरेको छ ।


सम्बन्धित समाचार