४ जेठ, काठमाडौँ । विगत लामो समयदेखि सहकारीमा आफ्नो दुःखजिलो कमाइ डुबेर छटपटाइरहेका साना बचतकर्ताका लागि आशाको किरण देखा परेको छ ।
सरकारले समस्याग्रस्त घोषित सहकारीका साना बचतकर्ताहरूको रकम औपचारिक रूपमा फिर्ता गर्न सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार पहिलो चरणमा तीनवटा ठुला समस्याग्रस्त सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो ।
पहिलो दिन थोरै रकम भएका बचतकर्तालाई प्राथमिकता दिइएको र अब क्रमशः रकमका आधारमा वर्गीकरण गर्दै अन्य पीडितहरूको पनि बचत फिर्ता गरिने समितिले जनाएको छ ।
समितिले दिएको विवरणअनुसार सोमबार कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना साना बचतकर्ताले आफ्नो मुद्दती तथा बचत रकम फिर्ता पाएका छन् ।
हाल सरकारले ५ लाख रुपैयाँभन्दा कम बचत भएकाहरूलाई ‘साना बचतकर्ता’ र सोभन्दा बढी रकम भएकाहरूलाई ‘ठुला बचतकर्ता’ का रूपमा वर्गीकरण गरेको छ ।
व्यवस्थापन समितिको तथ्याङ्कअनुसार हालसम्म समस्याग्रस्त घोषित सहकारीका करिब ७६ हजार बचतकर्ताको कुल ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व छ, जसमा ५ लाखभन्दा बढी रकम भएका ठुला बचतकर्ताको सङ्ख्या जम्मा १८ हजार मात्र रहेको छ । बाँकी सबै साना बचतकर्ता रहेकाले सरकारले उनीहरूलाई प्राथमिकतामा राखेको हो ।
ऋण असुली पनि तीव्र
यसैबिच, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गराउन समस्याग्रस्त सहकारीका ऋणीहरूबाट बक्यौता असुल गर्ने कार्यलाई निकै तीव्र पारिएको जानकारी दिएकी छिन् ।
मन्त्री रावलका अनुसार बदमासी गर्ने सहकारीका ऋणीहरूको नाम सार्वजनिक गर्न थालेपछि अहिले कानुनी डन्डा र बेइज्जतीको डरले ऋणीहरू स्वतःस्फूर्त रूपमा ऋण तिर्न आउन थालेका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार पछिल्लो छोटो अवधिमै ऋणीहरूबाट २ करोड रुपैयाँभन्दा बढी नगद असुली भइसकेको छ । समितिले आगामी दिनमा ऋणीहरूबाट पैसा असुल्ने र यता बचतकर्ताको रकम फिर्ता गर्ने दुवै प्रक्रियालाई सँगसँगै अगाडि बढाउने रणनीति लिएको छ ।

















