Logo

५ जेठ, माडी चितवन । चितवन राष्ट्रिय निकुञ्ज र सोमेश्वर पहाडको बीचमा जङ्गल, पहाड र कञ्चन खोलानालाले घेरिएको एउटा सुन्दर उपत्यका हो— माडी। चितवन आउने पर्यटकका लागि पछिल्लो समय माडी एउटा आकर्षक र अनिवार्य गन्तव्यका रूपमा उदाएको छ। चारैतिरको प्राकृतिक मनोरम दृश्य, जैविक विविधता, धार्मिक तथा ऐतिहासिक धरोहर र रैथाने संस्कृतिका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ। पर्यटकको यही आगमनसँगै माडीमा होटल, रिसोर्ट र होमस्टे (सामुदायिक र निजी) हरूको व्यावसायिक यात्रा निकै फस्टाउँदो र उत्साहजनक देखिन्छ।

पर्यटनको यही प्रचुर सम्भावना र पुर्खाको माटोप्रतिको अगाध प्रेमले डोर्‍याएर पोखराका स्थापित पर्यटन व्यवसायी नारायण प्रसाद गौतमलाई आफ्नो पुर्ख्यौली गाउँमा एउटा फरक र मौलिक पर्यटकीय गन्तव्य बनाउने रहर जगाएको छ। सोही रहर र सपनाको प्रतिफल स्वरूप माडीमा एउटा सुन्दर मौलिक घर ठडिएको छ, जसले अहिले सबैको ध्यान तानेको छ।

पुर्खाको माटो फर्काएर बनाएको सपना

माडी नगरपालिका वडा नम्बर ७ कीर्तनपुर पुग्ने जो–कोहीको आँखा अहिले एउटा घरमा टक्क अडिन्छ। खरले छाएको छानो, रातो माटो र कमेरोले लिपिएको गाह्रो, गाउँको पुरानो सुगन्ध बोकेको बनावट र परम्परागत नेपाली शैलीले बनेको त्यो घर अहिले माडीको “भाइरल घर” बनेको छ। त्यहाँ पुग्ने धेरैले फोटो खिचाउँछन्, भिडियो बनाउँछन् र आधुनिकताको भिडमा गाउँको मौलिकता अझै जिउँदो रहेछ भन्ने सुखद अनुभूति लिएर फर्किन्छन्।

तर, त्यो घर केवल एउटा भौतिक संरचना मात्र होइनस त्यो घरभित्र एउटा भावनात्मक इतिहास, पुर्खाप्रतिको आदर र जन्मथलोप्रतिको आत्मीयता लुकेको छ। नारायण प्रसाद गौतमका लागि त्यो जमिन सामान्य टुक्रा थिएन। परिस्थितिका कारण एक समय आफ्नो परिवारले बेच्नुपरेको पुर्ख्यौली जमिन अरूको हातमा जाँदा मनमा लागेको ठेस कहिल्यै मरेन। परिवारमा बारम्बार एउटै कुरा उठ्थ्यो— “पुर्खाले रगत–पसिना बगाएर कमाएको सम्पत्ति सकभर अरूको हातमा जान दिनु हुँदैन।”

यही भावनात्मक दृढताका कारण उहाँले करिब २५ वर्षअघि बिक्री भइसकेको सोही १३ कठ्ठा १० धुर पुर्ख्यौली जग्गा ठुलो मेहेनतले पुन खरिद गर्नुभयो। त्यो केवल जग्गा किन्ने व्यापार थिएन, त्यो त आफ्नो हराएको इतिहास र पहिचानलाई घर फर्काउने प्रयास थियो। जग्गा खरिद गर्दा त्यहाँ एउटा पुरानो र जीर्ण घर थियो। समयसँगै भत्किँदै गएको त्यो घरलाई हेरेर गौतमको मनमा एउटा सपना पलायो— “एक दिन यही ठाउँमा गाउँको वास्तविक मौलिकता झल्किने र पर्यटक लोभ्याउने घर बनाउनेछु।”

मनभित्र रहेको त्यही सपनाले अन्ततः २०८२ सालको माघ महिनाबाट मूर्तरूप लिन थाल्यो। स्थानीय कालिगड र स्रोत(साधनलाई प्राथमिकता दिँदै दुई महिनाको अथक प्रयासमा करिब १५ लाख रुपैयाँको लागतमा सो घर तयार भयो। आधुनिक कंक्रिटका अग्ला र महँगा भवनहरूभन्दा यो घर यसकारण फरक छ कि यसको निर्माणमा रैथाने प्रविधि प्रयोग गरिएको छ। टिनको छानोमाथि तापक्रम मिलाउन खर राखिएको छ भने इट्टाको गाह्रोलाई माटोले लिपेर पुरानो गाउँघरको दुरुस्तै झल्को दिइएको छ। घरभित्र पस्नेबित्तिकै प्राकृतिक शीतलता महसुस हुन्छ।

कामदारदेखि व्यवसायीसम्मको यात्रा

२०४९ सालमा एसएलसी दिएपछि माडी छोड्नुभएका नारायण प्रसाद गौतमको व्यावसायिक यात्रा सहज थिएन। सुरुमा उहाँ आफैँ होटलमा सामान्य कामदार भएर छिर्नुभयो, पछि ट्रेकिङ क्षेत्रमा गाइड र सहयोगी हुँदै लामो सङ्घर्षपछि पोखराको फेवाताल नजिकै लेकसाइड क्षेत्रमा होटल पिस भ्याली सञ्चालन गरेर एक सफल पर्यटन व्यवसायी बन्नुभयो।

लामो समय पर्यटन क्षेत्रमा बिताएका र नेपालका अधिकांश जिल्लाका साथै विदेशका धेरै देशको भ्रमण गरिसकेका गौतमले यात्राका क्रममा एउटा कुरा गहिरोसँग महसुस गर्नुभयो— विदेशी पर्यटकहरू कंक्रिटका ठूला महल र आधुनिकताभन्दा स्थानीय संस्कृति, परम्परा र प्राकृतिक जीवनशैलीमा बढी रमाउँछन्।

“मान्छे जहाँ गए पनि, जतिसुकै पैसा कमाए पनि आफ्नो जन्मस्थान र मौलिकता कहिल्यै बिर्सिनु हुँदैन,” गौतम भावुक हुँदै भन्नुहुन्छ, “विदेश र पोखरामा मैले यस्तै मौलिक घरहरूमा पर्यटकहरू आनन्दित भएको देखेँ। शीतलता र स्वास्थ्यका हिसाबले पनि यो उत्तम भएपछि आफ्नै गाउँमा यसको प्रयोग गरेको हुँ।” उहाँको यो सोचमा श्रीमती सिर्जना गौतम, स्नातकोत्तर पढ्दै गरेका र पर्यटन व्यवसायमै बुवालाई साथ दिइरहेका छोरा तथा उच्च शिक्षाको तयारीमा रहेकी छोरीको पूर्ण समर्थन छ।

पोखराबाट माडीसम्म पर्यटक जोड्ने महाअभियान

गौतमले यो घरलाई केवल हेर्ने थलो मात्र बनाउनुभएको छैन, यसलाई माडीको पर्यटन प्रवर्द्धनको माध्यम बनाउनुभएको छ। हालसम्म पाँच टोली विदेशी पर्यटक समूहले यो घरमा बसेर स्थानीय अर्गानिक स्वाद र माडीको न्यानो आतिथ्यताको अनुभव लिइसकेका छन्। पर्यटक आउँदा गाउँका स्थानीयहरू जम्मा हुने, कुराकानी गर्ने र आफ्नो संस्कृति चिनाउने गर्छन्, जसले गाउँमै नयाँ रौनक थपेको छ।

अझ रोचक कुरा त के छ भने, गौतमले पोखरास्थित आफ्नो होटलका प्रत्येक कोठामा माडीका धार्मिक, ऐतिहासिक, पुरातात्त्विक तथा पर्यटकीय क्षेत्रबारे जानकारीमूलक सामग्री र माडी नगरपालिकाले प्रकाशन गरेको ब्रोसर राख्ने व्यवस्था मिलाउनुभएको छ। पोखरा बस्ने पर्यटकले होटलकै कोठामा माडीको गोद्धक क्षेत्र, परशुराम कुण्ड, वाल्मीकि आश्रम, सोमेश्वर गढी र यहाँका थारु तथा बोटे समुदायको होमस्टेबारे सहजै जानकारी पाउँछन्। उहाँको उद्देश्य स्पष्ट छ— पोखरा आउने बाह्य पर्यटकलाई माडीसम्म आकर्षित गर्ने।

माडीको अर्थतन्त्रको बलियो खम्बा, पर्यटन र होमस्टे

माडीको होटल र होमस्टेको व्यावसायिक यात्रालाई यो ुभाइरल घरु ले अझ नयाँ उचाइ दिने विश्वास गरिएको छ। “माडीमा धार्मिक, कृषि, माछापालन र प्राकृतिक वातावरणको अद्भुत सङ्गम छ,” गौतम भन्नुहुन्छ, “यदि माडीका घर–घरमा साना–साना होमस्टे शैलीको विकास गरी मौलिकता जोगाउन सकियो भने गाउँमै स्वरोजगारी सिर्जना हुन्छ र स्थानीयको जीवनस्तर माथि उठ्छ। यसका लागि स्थानीय सरकारसँग सहकार्य गर्न म सधैँ तयार छु।”

कीर्तनपुरमा बनेको त्यो खरको छानो भएको घर आज केवल एउटा पर्यटकीय गन्तव्य मात्र नभएर जन्मथलोप्रतिको अगाध प्रेम, पुर्खाको सम्मान र आधुनिकताको भिडमा आफ्नै मौलिकता जोगाउन सकिन्छ भन्ने एउटा जीवित र बलियो सन्देश बनेको छ।


सम्बन्धित समाचार