५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा प्राप्त उजुरीहरूमाथि सर्वसाधारण उजुरीकर्ताहरूसँगको छलफल सकिएको छ ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा सोमबार बसेको बैठकमा डा.शर्माविरुद्ध दर्ता भएका १६ वटा उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूसँग विस्तृत रूपमा सवालजवाफ गरिएको हो । उजुरीकर्ताहरूसँगको छलफल सकिएसँगै अब आजै दिउँसो साढे १ बजे प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई समितिमा प्रस्तुत गराई थप सुनुवाइ प्रक्रिया अगाडि बढाइने कार्यसूची तय भएको छ ।
समितिको बैठकमा उजुरीकर्ताहरूले प्रस्तावित प्रधानन्यायाधीश शर्माको शैक्षिक योग्यता, कार्यक्षमता र व्यावसायिक पृष्ठभूमिमाथि गम्भीर प्रश्न उठाएका छन् ।
छलफलका क्रममा मकवानपुरका उजुरीकर्ता दिपक न्यौपानेले डा.शर्माको शैक्षिक योग्यताको वैधानिकतामाथि नै आशंका व्यक्त गर्दै उनको सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरू समितिले मगाएर गहन अध्ययन गर्नुपर्ने माग राख्नुभयो । उजुरीकर्ताहरूको चासो र गुनासो सुनेपछि समितिले ती विषयहरूलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
संसदीय सुनुवाइको स्थापित परम्परा र प्रक्रियाअनुसार पहिलो चरणमा उजुरीकर्ताहरूसँग छलफल गरिएको हो । अब बस्ने दोस्रो चरणको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्मा आफैं समिति समक्ष उपस्थित हुनुहुनेछ ।
सो क्रममा उनले न्यायलय हाँक्ने आफ्नो भावी कार्ययोजना र अवधारणा प्रस्तुत गर्नेछन् भने समिति सदस्यहरूले उजुरीकर्ताहरूले उठाएका प्रश्न र शैक्षिक प्रमाणपत्रका विषयमा शर्मासँग सिधा स्पष्टीकरण सोध्नेछन् । दुवै पक्षको कुरा सुनेपछि समितिले शर्माको नाम प्रधानन्यायाधीश पदका लागि अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिनेछ ।

















