५ जेठ, काठमाडौं । जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध विभिन्न तहका अदालतमा दायर गरेका सबै मुद्दाहरू बिना सर्त फिर्ता लिने घोषणा गरेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै खेलकुदको बृहत्तर हित र सुधारका लागि आफूले यो निर्णय लिएको स्पष्ट पारेका छन् ।
यसअघि जोरा स्पोर्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिको विषयलाई लिएर सर्वोच्च अदालत, उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अख्तरका अनुसार यो कानुनी लडाइँ कुनै व्यक्तिगत रिसिइबीका कारण नभई खेल क्षेत्रमा देखिएका विसंगतिहरू सुधार्नका लागि चालिएको कदम थियो ।
मुद्दा फिर्ता लिने घोषणा गरे पनि अख्तरले नेपाल प्रिमियर लिग प्राइभेट लिमिटेड र सम्बन्धित बैंक खाताहरूमाथि भने आफ्नो कानुनी स्वामित्व यथावत रहने जानकारी दिएका छन् । लामो समयदेखि जारी यो कानुनी विवाद अन्त्य भएसँगै नेपाली क्रिकेटको विकास र आगामी प्रतियोगिताहरू सञ्चालन गर्न क्यानलाई सहज हुने अपेक्षा गरिएको छ ।

















