५ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका लागि ४ जना उम्मेदवारको नाम अन्तिम सूची (सर्टलिस्ट) मा परेको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले मंगलबार ४ जनाको नाम छनोट गर्दै आगामी जेठ ८ गते अन्तर्वार्ताका लागि आह्वान गरेको हो ।
अध्यक्षका लागि परेका कुल ४७ वटा आवेदनमध्येबाट समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टलाई सर्टलिस्ट गरेको छ । छनोटमा परेका डा। अधिकारी सेबोनका पूर्वकार्यकारी निर्देशक हुन् भने विनयदेव आचार्य हाल सोही पदमा कार्यरत छन् । त्यस्तै, मुकुन्द कुमार क्षेत्री बोर्डका पूर्वसञ्चालक र डा। गोपालप्रसाद भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।
यसअघि सिफारिस समितिको नेतृत्व गरिरहेका डा. गुणाकर भट्टले आफ्नै दाजु डा। गोपालप्रसाद भट्ट उम्मेदवार बनेपछि स्वार्थ बाझिने भन्दै राजीनामा दिएका थिए । उनको राजीनामापछि डा.सञ्जय आचार्यलाई समितिको जिम्मेवारी सुम्पिएर प्रक्रिया अघि बढाइएको हो । गत वैशाख ४ गते तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि बोर्डको नेतृत्व नेतृत्वविहीन बनेको थियो ।

















