६ जेठ, काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा स्वदेशी तथा विदेशी ब्राण्डका महँगा मदिराहरू नक्कली रूपमा उत्पादन गर्ने एउटा ठूलो कारखाना फेला परेको छ । सशस्त्र प्रहरी बलको विशेष टोलीले उक्त नक्कली मदिरा उत्पादन केन्द्रमा आकस्मिक छापा मारी उद्योग ध्वस्त पार्नुका साथै घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुप्रसाद भट्टका अनुसार विशेष सूचनाका आधारमा गएको टोलीले चाँगाथलीस्थित एक घरमा चलिरहेको उक्त अवैध कारखानाबाट आज ठूलो परिमाणमा नक्कली रेड लेवल, ब्ल्याक लेवललगायतका बहुर्राष्ट्रिय ब्राण्डका महँगा रक्सीहरू बरामद गरेको हो ।
प्रहरीका अनुसार विदेशी ब्राण्डको बोटलिङ र लेबलिङ गरी बजारमा नक्कली मदिरा आपूर्ति गर्ने संगठित गिरोह नै पक्राउ परेको हो। पक्राउ पर्नेहरूमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–२ का ३० वर्षीय मनोज खत्री, सोही जिल्लाको खिम्ती गाउँपालिकाका २८ वर्षीय विनोद तामाङ र २६ वर्षीय विवेक तामाङ रहेका छन् । त्यस्तै, सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ घर भएका २२ वर्षीय छिदेन निमा तामाङलाई पनि प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।
यो गिरोहले लामो समयदेखि काठमाडौँ उपत्यकाका प्रतिष्ठित होटल, रेष्टुरेन्ट र डान्स बारहरूमा विदेशी रक्सी भन्दै नक्कली उत्पादनहरू महँगो मूल्यमा बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले बजारबाट संकलन गरेका खाली विदेशी बोतलहरूमा कमसल खाले घरेलु तथा स्वदेशी रक्सी, विभिन्न केमिकल र रङ मिश्रण गरी हुबहु सक्कली जस्तै देखिने गरी सिलबन्दी र नक्कली राजस्व स्टीकर टाँस्ने गरेको पाइएको छ ।
कारखानाबाट प्रहरीले मदिरा मात्र नभई बोटलिङका लागि राखिएका हजारौँ खाली बोतल, नक्कली बिर्को, बहुराष्ट्रिय कम्पनीका लेबल र प्याकेजिङका सामग्रीहरू समेत जफत गरेको छ । पक्राउ परेका चारै जनालाई थप कानुनी कारबाही, राजश्व छली तथा जनस्वास्थ्यविरुद्धको कसुरमा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

















