Logo

६ जेठ,काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण दायित्व चालु आर्थिक वर्ष २०८२–८३ को वैशाख मसान्तसम्ममा २९ खर्ब ७५ अर्ब ४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय ले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत बराबर हो ।

आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा समीक्षा अवधिमा विनिमय दरमा आएको नोक्सानीसहित ऋण दायित्व ३ खर्ब ९९ अर्बले वृद्धि भएको हो ।

हाल कायम कुल ऋणमध्ये वैदेशिक ऋण १५ खर्ब ९३ अर्ब ८१ करोड रहेको छ, जुन कुल ऋणको ५३.५७ प्रतिशत हो । यस्तै आन्तरिक ऋण १३ खर्ब ८१ अर्ब २२ करोड पुगेको छ, जुन कुल ऋणको ४६.४३ प्रतिशत हो ।

लक्ष्यको ६१ प्रतिशत मात्रै ऋण प्राप्त

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ६६ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर वैशाख मसान्तसम्ममा ३ खर्ब ६५ अर्ब १६ करोड मात्र ऋण प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको ६१.३० प्रतिशत हो ।

प्रतिवेदन अनुसार आन्तरिक ऋण परिचालन अपेक्षाकृत उत्साहजनक देखिएको छ । सरकारले आन्तरिक ऋणतर्फ लक्ष्यको ८२.५० प्रतिशत अर्थात् २ खर्ब ९८ अर्ब ६६ करोड प्राप्त गरिसकेको छ । तर वैदेशिक ऋणतर्फ भने लक्ष्यको केवल २८.४६ प्रतिशत अर्थात् ६६ अर्ब ४९ करोड मात्र प्राप्त भएको छ ।

ऋण सेवा खर्चमा २ खर्ब ९२ अर्ब

सरकारले वैशाख मसान्तसम्ममा साँवा र ब्याज भुक्तानीका लागि २ खर्ब ९२ अर्ब ५२ करोड खर्च गरेको छ । यो रकम जीडीपीको ४.४३ प्रतिशत बराबर हो ।

कुल ऋण सेवा खर्चमध्ये आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब ८५ अर्ब ६६ करोड तथा ब्याज भुक्तानीमा ५० अर्ब ५२ करोड खर्च भएको छ । यस्तै बाह्य ऋणतर्फ ४६ अर्ब २५ करोड साँवा र १० अर्ब ६ करोड ब्याज भुक्तानी गरिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा ऋण सेवा खर्चका लागि कुल ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन गरेको थियो । वैशाख मसान्तसम्ममा सो बजेटको ७१.१७ प्रतिशत खर्च भइसकेको छ ।

विनिमय दरका कारण १ खर्ब ६७ अर्ब नोक्सानी

प्रतिवेदन अनुसार वैदेशिक विनिमय दरमा आएको परिवर्तनका कारण १ खर्ब ६७ अर्ब ७५ करोड बराबरको विनिमय नोक्सानी भएको छ, जसले सार्वजनिक ऋण दायित्व थप बढाएको छ ।

वैशाख मसान्तसम्मको खुद ऋण परिचालन १ खर्ब ३३ अर्ब २३ करोड रहेको छ । सार्वजनिक ऋणमा भएको कुल वृद्धिमध्ये ४४.२७ प्रतिशत हिस्सा खुद ऋण परिचालनको रहेको छ भने ५५.७३ प्रतिशत हिस्सा वैदेशिक विनिमय घाटाको रहेको कार्यालयले जनाएको छ ।

मासिक तथ्यांक अनुसार वैशाख महिनामा मात्रै सरकारले १५ अर्ब ८७ करोड ऋण प्राप्त गरेको थियो । सोही अवधिमा सरकारले २६ अर्ब ८१ करोड आन्तरिक र ११ अर्ब ५९ करोड बाह्य ऋण भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।


सम्बन्धित समाचार