६ जेठ,चितवन । समयमै भुक्तानी नपाउँदा चितवनका दुग्ध किसानहरू आर्थिक रूपमा मर्कामा परेका छन्। दुग्ध विकास संस्थान (डीडीसी) र निजी उद्योगीबाट लामो समयदेखि भुक्तानी नआउँदा करिब ५५ करोड रुपैयाँ बक्यौता रहेको किसान प्रतिनिधिहरूले बताएका छन्।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार डीडीसीसँग पुस १६ गतेदेखि नै भुक्तानी बाँकी छ भने केही ठूला उद्योगीबाट तीन महिनादेखि रकम नपाइएको छ।
उनका अनुसार पछिल्लो समय डीडीसीको भुक्तानी प्रक्रियामा केही सुधार देखिए पनि समस्या पूर्ण रूपमा समाधान भएको छैन। “चारदेखि साढे चार महिनासम्म भुक्तानी रोकिँदा रकम जतिसुकै भए पनि किसानलाई ठूलो समस्या हुन्छ,” उनले भने।
बगालेले डीडीसी र निजी क्षेत्र दुवैबाट गरी करिब ५५ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको जानकारी दिँदै छिटो रकम उपलब्ध गराउन आग्रह गरे। लामो समयसम्म भुक्तानी नपाउँदा किसानहरूको दैनिक जीवनयापनमै असर परेको उनको भनाइ छ।
चितवनमा संघअन्तर्गत ११५ वटा दुग्ध सहकारीमार्फत करिब ४० हजार किसानले दैनिक दूध बिक्री गर्दै आएका छन्। जिल्लामा दैनिक करिब तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ।
संघले रत्ननगरस्थित आफ्नै उद्योगमार्फत दूध, दही, पनिर, चिज, मोही, नौनी र घ्युजस्ता दुग्धजन्य उत्पादनको प्रशोधन तथा बिक्री गर्दै आएको छ।




















