६ जेठ,वीरगञ्ज । मधेश प्रदेशका विभिन्न जिल्लामा वर्षौँदेखि अतिक्रमणमा परेको ४४२ हेक्टर वन क्षेत्र गत आर्थिक वर्ष २०८१/८२ मा अतिक्रमणमुक्त गरिएको छ ।
मधेस प्रदेश वन निर्देशनालय का अनुसार थप अतिक्रमित वनक्षेत्र खाली गराउन सम्बन्धित वन कार्यालयहरूले सूचना जारी गर्दै प्रक्रिया अघि बढाएका छन् ।
निर्देशनालयले सार्वजनिक गरेको विवरणअनुसार धनुषामा ३० हेक्टर, सर्लाहीमा १७५ हेक्टर, सप्तरीमा १११ हेक्टर, बारामा ५४ हेक्टर, पर्सामा ४५ हेक्टर, रौतहटमा १२ हेक्टर, सिरहामा १० हेक्टर तथा महोत्तरीमा तीन हेक्टर वनक्षेत्र फिर्ता गरिएको हो ।
अतिक्रमित वन क्षेत्रमा खेतीपाती, गोठ निर्माण, होटल तथा पसल सञ्चालनका साथै घर निर्माण गरी बसोबाससमेत भइरहेको थियो ।
निर्देशनालयका निर्देशक जग्गनाथप्रसाद जयसवाल ले मधेश प्रदेशका आठवटै जिल्लामा अझै १६ हजार ५९९ हेक्टर वन क्षेत्र अतिक्रमणमा रहेको जानकारी दिए ।
उनका अनुसार अतिक्रमित वन क्षेत्र खाली गराउने प्रक्रिया सुरु भइसकेको छ र त्यसका लागि सबै पक्षको सहयोग आवश्यक छ । लामो समयदेखि कायम रहेको वन अतिक्रमण समस्या समाधान गर्न प्रदेश सरकारले पहल गरिरहेको उनले बताए ।
निर्देशक जयसवालले प्रशासनिक संयन्त्रले मात्र समस्या समाधान गर्न नसक्ने भएकाले राजनीतिक तथा स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको उल्लेख गरे ।
हाल नेपालमा करिब ४५ प्रतिशत भूभाग वनले ढाकिएको भए पनि मधेश प्रदेशमा भने केवल ३.७२ प्रतिशत भूभाग मात्रै वन क्षेत्रले ओगटेको छ ।
प्रदेशभर दुई लाख दुई हजार २०२ हेक्टर वन क्षेत्र रहेकोमध्ये १३६ स्थानीय तहमध्ये ८९ स्थानीय तहमा वन क्षेत्र नै नभएको तथ्यांक निर्देशनालयले सार्वजनिक गरेको छ । मधेश प्रदेशको कुल वन क्षेत्रमध्ये करिब आठ प्रतिशत क्षेत्र अतिक्रमणमा परेको बताइएको छ ।

















