६ जेठ, चितवन । बिहानको घामसँगै फूल–फूलमा गुन्गुनाउँदै उड्ने मौरीलाई धेरैले सामान्य कीरा ठान्छन् । तर, प्रकृतिको यही सानो जीवले मानव जीवन, खाद्य सुरक्षा र वातावरणीय सन्तुलनलाई टिकाइराख्न कति ठूलो भूमिका खेलिरहेको छ भन्ने कुरा विश्वले आज झन् गहिरोसँग बुझ्न थालेको छ । त्यसैले हरेक वर्ष मे २० मा “विश्व मौरी दिवस” मनाइन्छ— मौरी र अन्य परागसेचक जीवहरूको संरक्षणप्रति विश्वव्यापी जनचेतना फैलाउन।
मानव सभ्यताको सुरुवातदेखि नै महलाई प्राकृतिक औषधिका रूपमा प्रयोग गरिँदै आएको इतिहास छ । आयुर्वेददेखि आधुनिक चिकित्सा विज्ञानसम्म महलाई स्वास्थ्यका लागि गुणकारी मानिन्छ । शरीरलाई तत्काल ऊर्जा दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, घाँटी दुखाइ कम गर्ने, घाउ निको पार्न सहयोग गर्ने तथा पाचन प्रणालीलाई सन्तुलित राख्ने गुण महमा पाइन्छ । यही कारण अहिले बजारमा कृत्रिम मिठाइभन्दा प्राकृतिक महप्रति उपभोक्ताको आकर्षण बढ्दो छ ।
तर महको महत्व केवल औषधिमा मात्र सीमित छैन । मौरीले फूलहरूमा परागसेचन गराएर कृषि उत्पादन बढाउने भएकाले मानव जीवनलाई सन्तुलित राख्न यसको भूमिका अत्यन्त महत्वपूर्ण छ । विज्ञहरूका अनुसार विश्वको ठूलो हिस्सा खाद्य उत्पादन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मौरीको परागसेचनमा निर्भर छ । यदि मौरीको संख्या घट्दै जाने हो भने फलफूल, तरकारी र अन्नबालीको उत्पादनमा गम्भीर असर पर्न सक्छ ।
चितवनको माडीमा व्यावसायिक रूपमा मौरी पालन सुरु गर्ने अग्रणी व्यवसायीमध्येका एक हुन् दामोदर देवकोटा । “मिराकल मौरी पालन” सञ्चालन गरिरहेका उनले विगत १२ वर्षदेखि मौरीसँगै आफ्नो जीवनको यात्रा अघि बढाइरहेका छन् । अहिले उनीसँग “एपिस मेलिफेरा” जातका ८२ वटा घार छन् ।
देवकोटा सम्झिन्छन्— “सुरुमा धेरैले मौरी पालनबाट के हुन्छ र ? भनेर प्रश्न गर्थे । खेतीपातीले मात्र घर खर्च धान्न मुस्किल थियो । पछि सानो रूपमा मौरी पालन सुरु गरेँ । अहिले मह बिक्रीबाट राम्रो आम्दानी भइरहेको छ ।”
उनका अनुसार मौरीले केवल मह मात्रै दिएन, खेतबारीको उत्पादन पनि बढायो । “पहिला तरकारी र फलफूलमा त्यति उत्पादन हुँदैनथ्यो । मौरीले परागसेचन गरेपछि उत्पादनमा फरक देखियो,” उनले भने, “मौरी प्रकृतिको किसान रहेछ भन्ने अनुभव भयो ।”
माडीको प्राकृतिक वातावरण, जंगल क्षेत्र र विभिन्न फूल–वनस्पतिले मौरी पालनका लागि राम्रो सम्भावना दिएको उनी बताउँछन् । तर व्यवसाय सजिलो भने छैन । चरनका लागि मौरीलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानुपर्दा मौरी मर्ने जोखिम हुने, चिसो मौसममा मह जम्ने समस्या आउने र बजार व्यवस्थापनमा कठिनाइ हुने अनुभव उनले सुनाए ।
“विदेशी मह खुलेआम भित्रिँदा स्वदेशी उत्पादक मारमा परेका छन्,” देवकोटाले भने, “सरकारले नेपाली महलाई प्रोत्साहन गर्ने नीति ल्याए मौरी पालन ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्न सक्छ ।”
नेपालमा पछिल्ला वर्षहरूमा व्यावसायिक मौरी पालनप्रति युवाको आकर्षण बढेको छ । कम लगानीमा सुरु गर्न सकिने र राम्रो आम्दानी लिन सकिने भएकाले धेरैले यसलाई सम्भावनायुक्त व्यवसायका रूपमा हेर्न थालेका छन् । चितवन, इलाम, कास्की, दाङ, सुर्खेत लगायत जिल्लामा व्यावसायिक मौरी पालन विस्तार भइरहेको छ । पहाडी र हिमाली क्षेत्रमा पाइने जडीबुटी तथा प्राकृतिक फूलका कारण नेपाली महलाई गुणस्तरीय मानिन्छ ।
तर मौरीको अस्तित्वमाथि चुनौती पनि बढ्दै गएको छ । अत्यधिक विषादी प्रयोग, वन विनाश, जलवायु परिवर्तन र विभिन्न रोगका कारण मौरीको संख्या घट्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । मौरी नष्ट हुँदै जाँदा कृषि प्रणाली, जैविक विविधता र खाद्य सुरक्षामै असर पर्ने चेतावनी उनीहरूको छ ।
माडीका व्यवसायी दामोदर देवकोटाको अनुभवले पनि यही कुरा पुष्टि गर्छ । उनले मौरी पालनलाई केवल व्यवसाय नभई प्रकृतिसँगको सहयात्राका रूपमा लिएका छन् । “मौरीले मानिसलाई मह दिन्छ, बाली बढाउँछ, प्रकृतिलाई जोगाउँछ,” उनी भन्छन्, “त्यसैले मौरी बचाउनु भनेको हाम्रो भविष्य बचाउनु हो।”



















