७ जेठ,सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नम्बर १ अन्तर्गत कठकुइया बसन्तपुर पकडी टोलामा रहेको श्री नेरा मा.वि. कठकुइया बसन्तपुर पकडी मा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान तथा बिदाइ गरिएको छ।
आज विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा सात जना विद्यार्थीहरुलाई दोसल्ला ओढाई पुरस्कार वितरण गर्दै सम्मान गरिएको हो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ सापकोटाको सभापतित्व तथा वडा नम्बर १ का वडा अध्यक्ष रामशरण ख्वास थारुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा गाउँपालिकाका शिक्षा प्रमुख शिवराज फ्युयाल, आसमान नेपालका धर्मेन्द्र चौरसिया, कार्यपालिका सदस्य ऋषि कुमार हजरा, विद्यालयका प्रधानाध्यापक कृपा सिन्धु पटवारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी अतिथिहरुले विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै सफलताका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए।