७ जेठ,वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखा ले सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने सरकारी निर्णयको विरोधमा सप्ताहव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ।
वीरगञ्जस्थित मुर्ली बगैचामा रहेको पत्रकार महासंघको भवनमा सुरु गरिएको अभियानमा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूले हस्ताक्षर गर्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
सहभागी पत्रकारहरूले उक्त निर्णयले निजी तथा स्वतन्त्र सञ्चारमाध्यमलाई कमजोर बनाउने, प्रेस स्वतन्त्रतामाथि असर पार्ने तथा सञ्चार क्षेत्रमा असमानता सिर्जना गर्ने बताएका छन्।
अभियान उद्घाटन कार्यक्रममा वक्ताहरूले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सञ्चारमाध्यममाथि विभेद गर्ने कुनै पनि नीति स्वीकार्य नहुने धारणा राखेका थिए। उनीहरूले सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णय तत्काल फिर्ता लिन सरकारसँग मागसमेत गरेका छन्।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको संकुचनविरुद्ध पत्रकार, सञ्चारकर्मी तथा आम नागरिकलाई हस्ताक्षर अभियानमा सहभागी भई खबरदारी गर्न आह्वान गरेको छ।
ओमप्रकाश खनाल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्याम बन्जारा, अनुप तिवारी, निरज पिठाकोटे मगरलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।
महासंघका अनुसार हस्ताक्षर अभियान केही दिनसम्म सञ्चालन गरिनेछ र संकलित हस्ताक्षर सरकारसमक्ष बुझाइने कार्यक्रम रहेको छ।


















