Logo

८ जेठ,काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो भएको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा बोल्दै उनले मूल्यवृद्धिको संकटले निर्माण क्षेत्र र समग्र अर्थतन्त्रमा गम्भीर असर पारेको बताए।

मन्त्री लम्सालका अनुसार निर्माण सामग्री र इन्धनमा भएको अस्वाभाविक मूल्यवृद्धिका कारण पूर्वाधार मन्त्रालयको बजेट ठूलो दबाबमा परेको छ। उनका अनुसार करिब २० दिनअघिको तथ्यांकअनुसार मन्त्रालयको बजेट सीमाभन्दा करिब ३७ अर्ब रुपैयाँले घाटामा गइसकेको थियो।

“अहिले हाम्रो अगाडि रहेको यो मूल्यवृद्धि सामान्य होइन। यो नेपालकै इतिहासको सबैभन्दा ठूलो मूल्यवृद्धि हो र निर्माण क्षेत्रका लागि ठूलो संकट पनि हो,” उनले भने।

उनले विशेषगरी डिजेलको मूल्यवृद्धिले निर्माण क्षेत्रमा ठूलो असर पारेको उल्लेख गरे। निर्माण व्यवसायीहरूको प्रमुख इन्धन खपत क्षेत्र भएकाले राज्य र व्यवसायी दुवै पक्ष प्रभावित भएको उनको भनाइ छ।

राष्ट्र बैंकको मूल्य सूचकांकले मात्र वर्तमान अवस्थालाई पूर्ण रूपमा सम्बोधन गर्न नसक्ने अवस्था रहेको स्वीकार गर्दै मन्त्री लम्सालले सबै आयोजना र व्यवसायीलाई समेट्ने गरी सरकारले समाधान खोजिरहेको जानकारी दिए।

उनका अनुसार बहुवर्षीय आयोजनामा मूल्यवृद्धि समायोजन गर्न सहज भए पनि म्याद थप भएका र ‘इन्डेक्स फ्रिज’ भएका आयोजनामा समस्या देखिएको छ। एक वर्षे आयोजनामा समेत कानुनी रूपमा मूल्य समायोजनको व्यवस्था भए पनि सबैमा लागू गर्न कठिनाइ रहेको उनले बताए।

“राज्यले निर्णय गर्दा कसैलाई दिने र कसैलाई नदिने गरी विभेद गर्न मिल्दैन। त्यसैले सबै प्रकारका आयोजना र निर्माण व्यवसायीलाई समेट्ने गरी अध्ययन भइरहेको छ,” उनले भने।

मन्त्री लम्सालले ऐन संशोधन आवश्यक रहेको उल्लेख गर्दै तत्काल कानुनी परिवर्तन नभएसम्म पूर्ण समाधान सम्भव नहुने संकेत गरे। साथै उनले निर्माण व्यवसायीहरूलाई ढुक्क भएर काम जारी राख्न आग्रह गरे।

“सरकार विकासका सवालमा अनुदार वा कठोर छैन,” भन्दै उनले सडक लगायतका पूर्वाधार आयोजनामा काम नरोक्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरेका छन्।


सम्बन्धित समाचार