८ जेठ,काठमाडौं । पाँचथरको याङवरक गाउँपालिका–६ अर्चलेमा सिङ्गल क्याप पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार दुर्घटनामा झापाको बाह्रदशी गाउँपालिका–५ निवासी ३५ वर्षीय गोपाल भट्टराईको मृत्यु भएको हो।
प्रहरीका अनुसार च्याङथापुबाट गोरु र बाछा फालेलुङतर्फ लैजाने क्रममा पिकअप गाडी अर्चलेमा रोकिएको थियो। सो क्रममा चालक पिसाब गर्न गाडीबाट बाहिर निस्किएको र न्यूट्रलमा रहेको गाडी अचानक गुड्न थालेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
ब्रेक लगाउने प्रयास गर्दा गाडी नियन्त्रणबाहिर गई सडकबाट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गाडीमा रहेका अन्य दुई जना यात्रु भने पिसाब गर्न बाहिर गएकाले सुरक्षित रहेको जनाइएको छ।
प्रहरीका अनुसार प्र १–०१–००२ च १५६९ नम्बरको उक्त पिकअप दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।


















