८ जेठ,काठमाडौं । सरकारले नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया अस्थायी रूपमा रोकेपछि अटोमोबाइल क्षेत्रका व्यवसायीहरू आकस्मिक छलफलमा जुट्ने भएका छन्।
अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारी निर्णयपछि उत्पन्न परिस्थितिबारे समीक्षा गर्न आपतकालीन बैठक बोलाएको हो। संगठनले हालको व्यवस्थाप्रति आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारीसमेत गरेको जनाएको छ।
यसअघि यातायात व्यवस्था विभागले सबै प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्म नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया रोक्न निर्देशन दिएको थियो।
सरकारी निर्णयपछि सवारी आयात, बिक्री तथा दर्ता प्रक्रियामा प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ। त्यसैलाई ध्यानमा राख्दै निजी क्षेत्रका व्यवसायी तथा सरोकारवालाहरू सम्भावित आर्थिक प्रभाव र आगामी रणनीतिबारे छलफलमा केन्द्रित भएका हुन्।